ब्राजिलको राष्ट्रपतीय चुनावमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएका फ्लाभियो बोल्सोनारो अमेरिका पुगेका छन्। ट्रम्प प्रशासनले उनलाई र उनको परिवारलाई भिसा दिने तथा अमेरिका प्रवेश गर्न अनुमति दिने जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले यस्तो जानकारी दिएका हुन्। फ्लाभियो अमेरिका पुग्नुअघि नै प्रशासनले भिसा दिने निर्णय गरेको थियो। उनले फ्लोरिडामा आफ्ना भाइ एडुआर्डो बोल्सोनारोसँग भेटसमेत गरिसकेका छन्। तर, उनी अमेरिकामै बस्ने योजना बनाएर त्यहाँ पुगेका हुन् कि होइनन् भन्ने खुलेको छैन।
फ्लाभियोको अमेरिका यात्रा ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्द्रे दे मोरेसले उनको राहदानी जफत गर्न र देश छाड्न रोक लगाउन आदेश दिएको भोलिपल्ट भएको हो। अदालतले मंगलबार दिउँसोसम्म राहदानी बुझाउन समय दिएको थियो।
सोमबार फ्लाभियोले भिडियो सार्वजनिक गर्दै आफूले देश छाड्नेबारे कहिल्यै नसोचेको बताएका थिए। राहदानी जफत गर्ने निर्णय आफ्ना भाइ एडुआर्डोले अक्टोबर २३ मा चुनाव हारे देश छाड्नुपर्ने बताएका आधारमा गरिएको उनको दाबी थियो। तर, त्यसको भोलिपल्टै उनी अमेरिका प्रस्थान गरे।
फ्लाभियोमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ। उनले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन्। अनुसन्धानमा रियो दि जेनेरियो राज्यमा डिजिटल भुक्तानी प्लेटफर्म र सट्टेबाजी क्षेत्रसँग सम्बन्धित कारोबारमाथि ध्यान दिइएको छ। उक्त राज्यका पूर्वगभर्नर क्लाउडियो कास्त्रो पनि अनुसन्धानको दायरामा छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएका फ्लाभियोमाथि ब्राजिलमा कर छलीसम्बन्धी आरोपमा पनि अनुसन्धान भइरहेको छ। अमेरिका जानुअघि उनी देश छाड्न लागेको विषयमा ब्राजिलमा चर्चा भएको थियो। उनका चुनावी अभियान व्यवस्थापक रोगेरियो मारिन्होले पछिल्लो समय उनीसँग सम्पर्क हुन नसकेको बताएका थिए। उनका अनुसार फ्लाभियोले अन्तिम सन्देशमा आफू केही समय विश्राम लिन चाहेको बताएका थिए।
फ्लाभियोका बुवा तथा ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो सन् २०२२ को चुनावमा लुलासँग पराजित भएका थिए। त्यसपछि उनी पनि अमेरिका पुगेका थिए। तर तीन महिनापछि ब्राजिल फर्किएका थिए। जैर अहिले अर्को मुद्दामा घरमै नजरबन्दमा छन् र २७ वर्षको जेल सजाय भोगिरहेका छन्।
फ्लाभियोको दलले चुनावी परिणाम स्वीकार गरे पनि उनले भने त्यसलाई स्वीकार गरेका छैनन्। उनले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन्। तर, ती आरोप पुष्टि गर्ने प्रमाण सार्वजनिक गरेका छैनन्। उनले निर्वाचन अदालतमा उजुरी दिँदै लुला र उपराष्ट्रपति गेराल्डो अल्कमिनको उम्मेदवारी रद्द गर्नसमेत माग गरेका छन्।
ब्राजिलको सर्वोच्च अदालतले फ्लाभियोमाथि थप दुई वटा मुद्दामा अनुसन्धान गरिरहेको छ। एउटा मुद्दामा ज्येष्ठ नागरिकलाई दिइने सरकारी पेन्सनसँग सम्बन्धित रकम सट्टेबाजी कम्पनीमार्फत शुद्धीकरण गरेको आरोप छ। अर्को मुद्दामा एक विवादित बैंकरबाट लाखौं डलर लिएको आरोप छ। फ्लाभियोले दुवै मुद्दामा आफूले कुनै गलत काम नगरेको बताउँदै आएका छन्।
यसैबिच, ट्रम्पले ब्राजिलको चुनावमा धाँधली भएको हुन सक्ने दाबी गरेका छन्। तर, उनले पनि आफ्नो दाबी पुष्टि गर्ने प्रमाण प्रस्तुत गरेका छैनन्। ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुलाले भने फ्लाभियोको देश छाड्ने निर्णयबारे टिप्पणी गर्दै उनी जिम्मेवारीबाट भाग्न खोजिरहेको आशय व्यक्त गरेका छन्।
प्रकाशित: ११ कार्तिक २०८३ ०७:३५ बुधबार