अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चार सहयोगीलाई ठुलो रकमको बिदा उपहार दिएको खुलेको छ।
गत साता प्रशासनले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरणअनुसार उनले कार्यकारी सहायक नताली हार्प, सञ्चार सल्लाहकार मार्गो मार्टिन र ओभल अफिस अपरेसनका उपनिर्देशक चेम्बरलेन ह्यारिसलाई जनही ४५ हजार डलर दिएका हुन्। ओभल अफिस अपरेसनका निर्देशक वाल्ट नौटालाई भने २० हजार डलर दिइएको छ।
ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पको कर्मचारी तथा आफूसँग नजिक रहेका व्यक्तिलाई क्रिसमसमा उपहार दिने लामो समयदेखिको अभ्यास रहेको बताए। उनका अनुसार यी नगद उपहार उनीहरूको सरकारी जिम्मेवारीसँग सम्बन्धित नभएकाले कानुन र नैतिक मापदण्डअनुसार अनुमति योग्य छन्।
उपहारबारेको विवरण पहिलो पटक मंगलबार ‘द वासिङ्टन पोस्ट’ले सार्वजनिक गरेको थियो। ट्रम्पसँग प्रायः देखिने हार्प राष्ट्रपतिका लागि अनुकूल समाचार र सामाजिक सञ्जालका सामग्री छाप्न पोर्टेबल प्रिन्टर बोकेर हिँड्ने गरेका छन्। ट्रम्प महत्त्वपूर्ण जानकारी स्क्रिनमा भन्दा कागजमा पढ्न रुचाउँछन्।
मार्टिन ट्रम्पको पहिलो कार्यकालदेखि नै उनको सञ्चार टोलीमा काम गर्दै आएकी छन्। ह्यारिसलाई यसै वर्ष अमेरिकी ललित कला आयोगमा नियुक्त गरिएको थियो। नौटा यसअघि ट्रम्पको भ्यालेटका रूपमा काम गरेका थिए।
नौटा र मार-ए-लागोका प्रबन्धक कार्लोस डे ओलिभेरामाथि सन् २०२३ मा ट्रम्पसँग मिलेर वर्गीकृत कागजातसम्बन्धी एफबीआई अनुसन्धानमा अवरोध गरेको आरोप लागेको थियो। ती आरोप सन् २०२४ मा खारेज भएका थिए। एजेन्सीको सहयोगमा
प्रकाशित: २५ भाद्र २०८३ ०९:१७ बिहीबार