अन्तर्राष्ट्रिय

क्यानडाका प्रधानमन्त्रीले ‘हामी अमेरिकाको कारणले बाँचिरहेका छैनौं’ भनेपछि भड्किए ट्रम्प

अमेरिका र क्यानडाबिच तनाव थप बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति बोर्डमा सामेल हुन क्यानडालाई पठाएको निमन्त्रणा फिर्ता लिएका छन्।

उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘प्रिय प्रधानमन्त्री कार्नी, कृपया यो पत्र शान्ति बोर्डमा क्यानडालाई सामेल हुन दिएको निमन्त्रणा फिर्ता लिएको सूचनाको रूपमा लिनुहोस्।’

यसअघि ट्रम्पले भनेका थिए, ‘अमेरिकाका कारण क्यानडा बाँचिरहेको छ। र, अर्को पटक मार्क कार्नीले बयान दिँदा उनले यो कुरा सम्झनु पर्छ।’ दुई नेताहरू बिचको यो वाक युद्ध जारी छ।

जवाफमा कार्नीले क्यानडा र अमेरिकाले अर्थतन्त्र, सुरक्षा र समृद्ध सांस्कृतिक आदानप्रदानको क्षेत्रमा उल्लेखनीय साझेदारी निर्माण गरेको भने। 

उनले भने, ‘संयुक्त राज्य अमेरिकाका कारण क्यानडा बाँचिरहेको छैन। हामी क्यानेडियन हौँ त्यसैले क्यानडा फस्टाउँदै छ।’

मंगलबार, प्रधानमन्त्री कार्नीले स्विट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा बोल्दै नयाँ विश्वव्यापी व्यवस्थाको मागमा जोड दिएका थिए।

शक्तिशाली राष्ट्रहरू बिचको प्रतिद्वन्द्विताको सामना गर्दा मध्यम शक्ति राष्ट्रहरूले दुई विकल्पहरूको सामना गर्नुपर्ने बाध्यता रहेको भन्दै त्यसबाट बाहिर निस्कनुपर्नेमा उनले जोड दिएका थिए। 

कार्नीको यो भनाइलाई अमेरिकाविरुद्ध मानिएको थियो।

बुधवार ट्रम्पले मार्क कार्नीलाई दिएको जवाफमा अमेरिकाप्रति कृतज्ञता नदेखाएको आरोप लगाए।

उनले भने, ‘खैर, क्यानडाले हामीबाट धेरै सित्तैमा चीजहरू पाउँछ। उनीहरू कृतज्ञ हुनुपर्छ, तर छैनन्। मैले मंगलबार मार्क कार्नीलाई देखेको थिएँ। उनी धेरै कृतज्ञ थिएनन्। क्यानडा अमेरिकाको कारणले बाँचिरहेको छ। अर्को पटक मार्कले बयान दिँदा, उनले त्यो कुरा सम्झनु पर्छ।’

क्यानडाको अर्थतन्त्र व्यापारमा धेरै निर्भर छ। सन् २०२४ मा क्यानडाको कुल निर्यातको ७५ प्रतिशत अमेरिकामा मात्रै भएको थियो।

यसअघि ट्रम्पले पटक पटक क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने दाबी गर्दै आएका थिए। एजेन्सी 

प्रकाशित: ९ माघ २०८२ १०:३१ शुक्रबार