ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः निर्वाचित भएका छन्।
आइतबार भएको दोस्रो चरणको चुनावमा सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै लुलाले चौथो पटक राष्ट्रपति बन्ने अवसर सुरक्षित गरेका हुन्। उनको जितले ल्याटिन अमेरिकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट दक्षिणपन्थी राजनीतिक शक्तिको विस्तारलाई चुनौती दिएको छ।
ब्राजिलको निर्वाचन अदालतका अनुसार सबै मत गणना हुँदा लुलाले कुल मतको ५१.८ प्रतिशत पाएका छन्। उनले फ्लाभियोलाई करिब ४४ लाख मतले पछि पारेका हुन्। यसअघि पहिलो चरणमा फ्लाभियोले लुलालाई २२ लाखभन्दा बढी मतले पछि पारेका थिए। पहिलो चरणमा पछि परे पनि दोस्रो चरणमा लुलाले पुनरागमन गरेका हुन्। उनको नयाँ कार्यकाल सन् २०२७ जनवरी ५ बाट सुरु हुनेछ।
लुलाको जितपछि उनका समर्थकले साओ पाउलो र रियो दि जेनेरियोलगायत सहरमा खुसी मनाएका छन्। चुनावी अभियानका क्रममा उनले लोकतान्त्रिक मूल्य, सामाजिक सुरक्षा र ब्राजिलको राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्राथमिकता दिएका थिए। अर्कोतर्फ, फ्लाभियोले अपराध नियन्त्रण र खाद्यान्नको मूल्य घटाउने प्रतिबद्धता जनाएका थिए।
लुलाको जितले ल्याटिन अमेरिकाका दुई ठुला जनसंख्या भएका देश ब्राजिल र मेक्सिकोमा वामपन्थी झुकावका नेतृत्व कायम राखेको छ। ट्रम्प प्रशासनले ब्राजिलका सामानमा बढाएको भन्सार शुल्कका बिच यो नतिजाले ब्राजिललाई अमेरिकी प्रभावबाट तुलनात्मक रूपमा स्वतन्त्र नीति अपनाउने अवसर दिएको विश्लेषण गरिएको छ।
तर चौथो कार्यकाल लुलाका लागि सहज नहुने देखिन्छ। जीवनयापनको बढ्दो लागत, घरायसी ऋण र सार्वजनिक खर्च नियन्त्रण उनका प्रमुख चुनौती हुनेछन्। साथै, दक्षिणपन्थी दलहरूको बलियो उपस्थिति रहेको संसद्सँग सहकार्य गर्दै आफ्ना नीति अघि बढाउनुपर्नेछ।
लुलाको राजनीतिक यात्रा सन् १९७० को दशकमा मजदुर युनियन नेताका रूपमा सुरु भएको थियो। उनी पहिलो पटक सन् २००३ मा राष्ट्रपति बनेका थिए। भ्रष्टाचारसम्बन्धी मुद्दामा जेल परे पनि उनको सजाय पछि रद्द भएको थियो। त्यसपछि सन् २०२२ मा जैर बोल्सोनारोलाई हराउँदै उनी फेरि सत्तामा फर्किएका थिए। अहिलेको जितसँगै लुलाले ब्राजिलको राजनीतिमा आफ्नो प्रभाव थप बलियो बनाएका छन्।
प्रकाशित: ९ कार्तिक २०८३ ०६:५८ सोमबार