अन्तर्राष्ट्रिय

ट्रम्पले इरानको सात दिने प्रस्ताव अस्वीकार गरेको दाबी, पुनः सैन्य कारबाहीको तयारी

फाइल तस्बिर

इरानले होर्मुज जलमार्ग पुनः खोल्ने र मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने प्रस्तावमा अमेरिकी प्रतिक्रियाको पर्खाइमा रहेको छ।

यसबिच वाल स्ट्रिट जर्नलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेको दाबी गरेको छ। इरानले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा कतारी मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष सात दिने प्रस्ताव पठाएको थियो।

प्रस्तावअनुसार अमेरिकाले इरानी बन्दरगाहमा लगाएको नौसैनिक नाकाबन्दी हटाउने, तेलमाथिको प्रतिबन्ध फुकुवा गर्ने र लेबनानलाई समेत समेटेर युद्धविराम कायम गरेमा इरानले सात दिनभित्र होर्मुज जलमार्ग पुनः खोल्ने उल्लेख छ। त्यसपछि आणविक कार्यक्रमबारे अमेरिकासँग वार्ता पुनः सुरु गर्ने योजना थियो।

इरानी विदेशमन्त्री अब्बास अराघचीले आवश्यक सहमति भए सात दिनभित्र जलमार्गमा सामान्य जल यातायात सुरु गर्न सकिने बताएका थिए। उनका अनुसार प्रारम्भिक प्रक्रिया पूरा गर्न चारदेखि पाँच दिन लाग्ने र छैटौं दिनमा जलमार्ग खोलिने योजना थियो। तर वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै ट्रम्पले प्रस्ताव स्वीकार नगरेको र नोभेम्बरमा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः सैन्य कारबाही गर्न सक्ने दाबी समेत गरेको छ। 

उता, इरानी राष्ट्रपति मसूद पेजेश्कियानले भने इरान आणविक कार्यक्रमसहित अन्य विषयमा वार्ताका लागि तयार रहेको, तर ‘धम्की वा जबरजस्ती’ स्वीकार नगर्ने बताएका छन्।

इरानले आफ्नो आणविक कार्यक्रममा कुनै लचिलोपन नदेखाउने एक वरिष्ठ इरानी अधिकारीले रोयटर्सलाई बताएका छन्। प्रस्तावमा लेबनानसहित क्षेत्रका विभिन्न मोर्चामा द्वन्द्व रोक्ने योजना पनि समेटिएको छ।

यसअघि पनि अमेरिका र इरानबिच कूटनीतिक पहल भएका थिए। तर दुवै पक्षबिच सम्झौता कार्यान्वयन र आणविक कार्यक्रमलाई लिएर अविश्वास कायम रहेकाले पछिल्लो प्रस्तावको भविष्य अझै स्पष्ट भएको छैन। एजेन्सीको सहयोगमा 

प्रकाशित: १० आश्विन २०८३ १४:०१ शनिबार