अन्तर्राष्ट्रिय

ट्रम्पको दाबी : म नभएको भए भारत र पाकिस्तानबिच आणविक युद्ध हुन्थ्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक व्यापारको माध्यमबाट भारत र पाकिस्तानबिचको सैन्य द्वन्द्व राेकेको दाबी गरेका छन्।

नेटो महासचिव मार्क रुटसँगको भेटमा ट्रम्पले भने, ‘भारत र पाकिस्तान जसरी अगाडि बढिरहेका थिए, त्यसले अर्को हप्ताभित्र उनीहरूबिच आणविक युद्ध हुने थियो।’

ट्रम्पले दाबी गरे, ‘मैले उनीहरू (भारत र पाकिस्तान) लाई भनेको थिएँ कि जबसम्म तिमीहरू यो मुद्दा समाधान गर्दैनौ, हामी तिमीहरूसँग व्यापारको बारेमा कुरा गर्ने छैनौं। उनीहरूले त्यसो गरे (द्वन्द्व रोके)।’

डोनाल्ड ट्रम्पले धेरै पटक दाबी गरेका छन् कि उनको कारणले दुई देशबिचको सैन्य द्वन्द्व रोकिएको थियो। भारतले उनको दाबीलाई बारम्बार अस्वीकार गरेको छ।

ट्रम्पले पहिलो पटक मे १० मा सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएको दाबी गरेका थिए। 

त्यसपछि भारतीय विदेश मन्त्रालयले भारत र पाकिस्तानबिच सैन्य द्वन्द्व रोक्न भएको सम्झौतालाई स्वीकार गरेको थियो। तर अमेरिकाको नाम लिएको थिएन। भारतले पनि अमेरिकाको मध्यस्थताको दाबीलाई अस्वीकार गरेको थियो। एजेन्सी

प्रकाशित: ३१ असार २०८२ १०:१४ मंगलबार

#NagarikNews #NepaliNews