अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अपेक्षित परिणाममा पुग्न नसकेपछि त्यसको जिम्मेवारी अरूमाथि थोपर्ने व्यक्ति खोजिरहेको दाबी गरिएको छ।
द एटलान्टिकको रिपोर्टअनुसार ट्रम्पले युद्ध छोटो समयमै निर्णायक रूपमा अन्त्य हुने अपेक्षा गरेका थिए। तर युद्ध लम्बिएपछि उनले आफ्ना सल्लाहकार र सैन्य नेतृत्वमाथि प्रश्न उठाउन थालेका छन्।
रिपोर्टमा ट्रम्पनिकट दुई बाह्य सल्लाहकारलाई उद्धृत गर्दै उनले युद्धको अपेक्षित परिणाम नआउनुमा कसलाई जिम्मेवार ठहराउने भन्नेबारे सोचिरहेको उल्लेख छ। विशेषगरी रक्षामन्त्री पिट हेगसेथ र अमेरिकी सेना प्रमुख जनरल डान केनको भूमिकामाथि उनले प्रश्न उठाइरहेको बताइएको छ।
केही अधिकारीले हेगसेथले युद्धको अवस्थाबारे ट्रम्पलाई अत्यधिक आशावादी विवरण दिएको आरोप लगाएका छन्। तर पेन्टागनका प्रवक्ता सन पार्नेलले यस्तो आरोप अस्वीकार गरेका छन्। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले भने ट्रम्पलाई हेगसेथ र केन दुवैप्रति पूर्ण विश्वास रहेको बताइन्।
ट्रम्पले आयोवामा आयोजित एक कार्यक्रममा इरानमाथि थप आक्रमण हुन सक्ने संकेत गरेका थिए। उनले थप सैन्य कारबाहीबाट मानवीय क्षति कम गर्न चाहेको पनि बताएका थिए। अमेरिकी सेनाले केही घण्टासम्म चल्ने सीमित आक्रमणदेखि केही दिन वा सातासम्म चल्न सक्ने ठुलो सैन्य अभियानसम्मका विकल्प तयार पारेको रिपोर्टमा उल्लेख छ।
यसैबिच, उपराष्ट्रपति जेडी भान्सले इरानी सुरक्षा अधिकारी मोहसेन रेजाईलाई प्रत्यक्ष वार्ताको प्रस्तावसहित पत्र पठाएका छन्। अमेरिकाले इरानको आणविक कार्यक्रमलाई वार्ताको मुख्य विषय बनाउनुपर्ने अडान राखेको छ।
यो पनि पढ्नुहोस्
अमेरिका र इजरायललाई खामेनीको चेतावनी : आक्रमण भए अब ‘भौगोलिक सीमा’ हेरिने छैन
युद्धको अवस्थाबारे गलत सूचना दिएको र गोप्य विवरण चुहाएको आरोपमा सेनाका लेफ्टिनेन्ट जनरल ब्रेट सिल्भियालाई पदबाट हटाइएको घटनाले पनि अमेरिकी सैन्य नेतृत्वभित्र तनाव बढेको देखिएको छ। रिपोर्टअनुसार यस घटनामा पोलिग्राफ परीक्षणसमेत गरिएको थियो।
इरानमाथि फेरि आक्रमण गर्दा तेलको मूल्य, अमेरिकी हतियार भण्डार र क्षेत्रीय सुरक्षामा पर्ने असरबारे पनि चिन्ता व्यक्त भइरहेको छ। अमेरिकी सिनेटर क्रिस मर्फीले उपलब्ध सैन्य विकल्पलाई ‘पागलपन’ भन्दै आलोचना गरेका छन्।
ट्रम्पले इरानमाथि नयाँ आक्रमणको आदेश दिएका छैनन्। तर मध्यावधि चुनावपछि थप सैन्य कारबाही गर्ने सम्भावनाबारे उनको प्रशासनमा छलफल भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
यो पनि पढ्नुहोस्
नेतान्याहुको दबाबमा ट्रम्पले इरानमा परमाणु हमला गर्न सक्ने कार्लसनको दाबी
प्रकाशित: १६ कार्तिक २०८३ १३:३५ सोमबार