अन्तर्राष्ट्रिय

इरानसँगको युद्धबिच घरेलु मोर्चामा घेरिए ट्रम्प : मध्यावधि लक्षित ‘नो किङ्स’ प्रदर्शनमा ८० लाख बढी मानिस उत्रिए

इरानसँगको करिब एक महिना लामो युद्धका कारण दबाबमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध अमेरिका तथा विश्वभर विशाल प्रदर्शन भएका छन्। 

गत शनिबार आयोजित तेस्रो ‘नो किङ्स र्‍याली’ मा आयोजकहरूका अनुसार ८० लाखभन्दा बढी मानिस सहभागी भएका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाका सबै ५० राज्यमा तीन हजार ३०० भन्दा बढी स्थानमा यी प्रदर्शन आयोजना गरिएका थिए। यसलाई अमेरिकी इतिहासको एकै दिनमा भएको सबैभन्दा ठुलो प्रदर्शनमध्ये एक मानिएको छ। गत वर्ष अक्टोबरमा भएको दोस्रो ‘नो किङ्स’ प्रदर्शनभन्दा यस पटक करिब १० लाख बढी सहभागिता रहेको आयोजकहरूले बताएका छन्।

प्रदर्शनकारीहरूले इरानसँगको बढ्दो तनाव, कडा आप्रवासन कारबाही, बढ्दो मुद्रास्फीति तथा अन्य नीतिप्रति आक्रोश व्यक्त गर्दै ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई पदबाट हटाउन माग गरेका थिए। यो ट्रम्पविरुद्ध राष्ट्रिय स्तरमा भएको तेस्रो ठुलो प्रदर्शन हो। आयोजकहरूले प्रदर्शनलाई यस वर्ष नोभेम्बरमा हुने मध्यावधि निर्वाचन लक्षित गरेका छन्। आयोजकले यसलाई मतमा परिणत गर्न स्थानीय स्तरमा निरन्तर अभियान चलाउने योजना बनाएका छन्। उनीहरूले रिपब्लिकन बहुमत भएका राज्यहरू जस्तै आइडाहो, व्योमिङ, मोन्टाना र युटाहमा समेत प्रदर्शन विस्तार गर्दै मतदाता परिचालनलाई जोड दिएका छन्।

ह्वाइट हाउसले यी प्रदर्शनलाई ‘ट्रम्प डिरेन्जमेन्ट थेरापी सत्र’ को संज्ञा दिँदै यसलाई वामपन्थी कोष सञ्जालको उत्पादन भनेर खारेज गरेको छ। यसले सामान्य अमेरिकी जनतालाई खासै फरक नपर्ने प्रशासनको टिप्पणी छ। यता ट्रम्पले आफ्ना निर्णयहरू देशलाई बलियो बनाउनका लागि भएको बताउँदै ‘म राजा होइन’ भनेका छन्। उनले आफूमाथि लगाइएका आरोप झुटो भएको दाबी गरे।

अमेरिकाका ठुला सहरहरू न्यूयोर्कको टाइम्स स्क्वायर, लस एन्जलस, बोस्टनमा विशाल प्रदर्शन भएका थिए। पोर्टल्याण्ड ओरेगनमा अमेरिकी झण्डा जलाउने घटना भएपछि स्थिति तनावपूर्ण बनेको थियो। उता लस एन्जलसमा प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा केही पक्राउ परेका थिए। फ्ल्यागशिप र्‍याली मिनेसोटाको सेन्ट पलमा भयो, जहाँ ब्रुस स्प्रिङस्टिनले प्रदर्शन गरे। 

उक्त प्रदर्शनमा विपक्षी डेमोक्र्याट नेता बर्नी स्यान्डर्ससहित इल्हान ओमर पनि सहभागी थिइन्। साथै, जोन बेज, जेनी फोन्डा र म्यागी रोजर्स जस्ता व्यक्तित्वहरू सहभागी भए। आन्दोलनलाई सम्बोधन गर्दै स्यान्डर्सले ‘ट्रम्प र नेतान्याहुले अमेरिकालाई इरानसँग असंवैधानिक युद्धमा धकेलेको’ आरोप लगाएका थिए।

यो आन्दोलन अमेरिकामा मात्र सीमित नभई पेरिस, लण्डन, रोम, एथेन्स, लिस्बन, बर्लिन लगायत विश्वका दर्जनौँ सहरमा पनि फैलिएको थियो। रोममा प्रदर्शनकारीहरूले ट्रम्पका साथै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको समेत विरोध गरे।

फेब्रुअरी २८ देखि जारी इरान युद्धमा ठुलो क्षति भएको छ। अमेरिका र इजरायलको संयुक्त हमलामा इरानका आणविक स्थलहरू, मिसाइल उत्पादन कारखानाहरू र सैन्य पूर्वाधारमा ठुलो क्षति पुगेको छ। इरानले पनि इजरायलसहित कतार, साउदी अरेबिया, युएई र कुवेतका ऊर्जा सुविधाहरूलाई लक्षित हमला गरेको छ। होर्मुज जलमार्ग कडा रूपमा नियन्त्रण गरेको छ, जसले तेल निर्यात प्रभावित भएको छ।

युद्ध अन्त्य गर्न ट्रम्प प्रशासनले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव पठाएको छ। प्रस्तावमा इरानको आणविक कार्यक्रम सीमित गर्ने, मिसाइल क्षमता घटाउने र होर्मुज जलमार्ग खोल्ने लगायत माग छन्। तर इरानले प्रस्ताव अस्वीकार गर्दै आफ्ना पाँच बुँदे सर्तहरू अगाडि सारेको छ। तेहरानले भविष्यमा अमेरिका र इजरायलबाट आफूमाथि आक्रमण नहुने ग्यारेन्टी, युद्धका कारण पुगेको क्षतिपूर्ति र होर्मुज जलमार्गमा आफ्नो अधिकार प्रयोगसहितका सर्त राखेको छ।

यसबिच ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा हमला अप्रिल ६ सम्म स्थगित गरेका छन्। तेहरानसँग ‘वार्ता राम्रोसँग चलिरहेको छ’ भन्ने दाबी उनको छ। तर इरानले कुनै प्रत्यक्ष वार्ता नभएको बताएको छ। इजरायल र इरानले एक अर्काको ऊर्जा पूर्वाधारमा हमला जारी राखेका छन्। अमेरिकाले मध्यपूर्व क्षेत्रमा थप सैनिक पठाएको छ। एजेन्सी 

प्रकाशित: १६ चैत्र २०८२ ०८:१४ सोमबार