अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुनः पदमा फर्काउन भूमिका खेलेपछि कम्पनीको शेयर मूल्य ३० प्रतिशतभन्दा बढीले बढेको छ।
यसबाट ट्रम्पलाई करिब एक करोड ५० लाख अमेरिकी डलर अर्थात् दुई अर्ब २२ करोड ८१ लाख नेपाली रुपैयाँसम्म फाइदा भएको हुन सक्ने एक रिपोर्टले जनाएको छ। यद्यपि, यो निश्चित आम्दानी नभई शेयर मूल्यमा आएको वृद्धिका आधारमा गरिएको अनुमान हो।
फाइनान्सियल टाइम्सका अनुसार ट्रम्पले नोभेम्बर ५ मा अमेरिकी सरकारी नैतिकता कार्यालयमा बुझाएको पछिल्लो वित्तीय विवरणमा सेप्टेम्बर ३० सम्म एनभिडियाको तीन लाख ७० हजार कित्ता शेयर रहेको उल्लेख छ। कम्पनीको शेयर मूल्यमा आएको वृद्धिसँगै ट्रम्पको लगानीको मूल्य पनि बढेको अनुमान गरिएको हो।
हुआङ पुनः सीईओ बनेको खबरपछि ट्रम्पले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै लेखेका थिए, ‘कम्पनी मात्र नभई अमेरिकी अर्थतन्त्रको सफलता र समृद्धि सुनिश्चित गर्न पनि देशलाई एनभिडियामा जेन्सेनको नेतृत्व आवश्यक छ।’
तर ट्रम्पको शेयर स्वामित्व र हुआङको पुनरागमनबिच देखिएको सम्बन्धले राजनीतिक विवाद निम्त्याएको छ। एरिजोनाका डेमोक्र्याटिक सिनेटर रुबेन ग्यालेगोले कम्पनीको निर्णय सार्वजनिक हुनुअघि ट्रम्पले शेयर किनबेच गरेको भए त्यसबारे अनुसन्धान हुनुपर्ने बताएका छन्।
उनले एक्समा लेखेका छन्, ‘घोषणाअघि कुन-कुन शेयरको स्वामित्व थियो भन्नेबारे अनुसन्धान गर्न आवश्यक छ। यो ह्वाइट हाउस अमेरिकी इतिहासकै सबैभन्दा भ्रष्ट छ।’
ट्रम्पसँग सेप्टेम्बर ३० सम्म रहेको भनिएको तीन लाख ७० हजार कित्ता शेयरको विवरणले अक्टोबर र नोभेम्बरको पहिलो तीन सातामा भएको सम्भावित किनबेचलाई भने समेट्दैन।
ट्रम्पले बुझाएको वित्तीय विवरणमा शेयरको यकिन संख्या नभई निश्चित दायरामात्र उल्लेख छ। त्यसैले ट्रम्पले शेयर किन्दा सम्बन्धित दायराको सबैभन्दा ठुलो संख्या र बेच्दा सबैभन्दा सानो संख्या रोजेको मान्यताका आधारमा सम्भावित लाभको हिसाब गरिएको हो।
यसअघि सार्वजनिक विवरणअनुसार एनभिडियामा ट्रम्पको व्यक्तिगत शेयर लगानी सन् २०२४ को अन्त्यमा करिब छ लाख १५ हजार डलरबाट बढेर १३ लाख डलर पुगेको थियो। विश्वभर कृत्रिम बौद्धिकता (एआई) प्रविधिको माग बढ्दै जाँदा एनभिडियाको बजार भाउ पनि बढेको छ। यसैबिच ट्रम्पको उक्त लगानीको मूल्य गत वर्ष छ करोड २० लाख डलरसम्म पुगेको दाबी गरिएको छ।
हुआङलाई पुनः पदमा फर्काउन ट्रम्पले एक साताभन्दा लामो समयदेखि सार्वजनिक रूपमै दबाब दिँदै आएका थिए। उनले हुआङलाई ‘प्रतिभाशाली’ व्यक्ति भन्दै उनीमाथि अन्याय भएको बताएका थिए। हुआङसँग सम्बन्ध रहेको आरोप लागेकी मेगास्पीडकी पूर्वकार्यकारी एलिस हुआङमाथि अमेरिकी गुप्तचर निकायले चिनियाँ जासुस भएको आशंका गरेको विषयलाई पनि ट्रम्पले खासै महत्त्व दिएका छैनन्। एलिस र जेन्सेन हुआङबिच भने कुनै पारिवारिक सम्बन्ध छैन।
ट्रम्पले चीनको शेन्जेनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको त्रिपक्षीय शिखर सम्मेलन, शुक्रबार वासिङ्टन डीसीमा आयोजित पत्रकार सम्मेलन र आइतबार आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत पनि हुआङको पुनरागमनबारे बोलेका थिए।
हुआङ पुनः सीईओ बनेपछि ट्रम्पले सन् २०२४ मा पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा सहभागी हुँदा एक बन्दुकधारीले कानमा गोली हानेपछि मुट्ठी उठाएको आफ्नो चर्चित तस्बिरको प्यारोडी पनि पोस्ट गरेका छन्। उक्त तस्बिरमा एनभिडियाको झन्डामुनि रातो ब्रा लगाएर झुकेका हुआङलाई देखाइएको छ।
ट्रम्पले सीएनबीसीसँगको कुराकानीमा एनभिडियाको सञ्चालक समितिलाई हुआङलाई पुनः नियुक्त गर्न आफूले मनाएको पनि स्वीकार गरेका थिए। उनले भने, ‘मैले उनीहरूसँग कुरा गरेँ। उनीहरूलाई मनाएँ। सम्झौता गराए। अन्ततः सञ्चालक समितिले हामीले चाहेको निर्णय गर्यो।’
हुआङको व्यक्तिगत आचरणबारे कम्पनीभित्र उठेका चिन्ताबारे सोध्दा ट्रम्पले उनले ‘केही गलत नगरेको’ दाबी गरे। उनले थप भने, ‘हामीले हामीलाई थाहा भएका सबै कुराका आधारमा उनलाई आश्वस्त पारेका छौँ। मानिसहरू उनलाई पदमा राख्नु जोखिम हो कि भनेर सोध्छन्। तर उनलाई गुमाउनु झन् ठुलो जोखिम हो।’
एनभिडियाले पनि विज्ञप्ति जारी गर्दै निर्णय गर्नुअघि अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरूबाट सुझाव लिएको जनाएको थियो। कम्पनीले ‘सरकारबाट प्राप्त सुझावका आधारमा हुआङलाई पुनः नियुक्त गर्दा राष्ट्रिय सुरक्षामा कुनै जोखिम नहुनेमा सञ्चालक समिति विश्वस्त छ’ भनेको थियो।
तर ट्रम्पका समर्थक मानिने म्यागा प्रभावकारी लौरा लुमरले भने यो निर्णयको आलोचना गरेकी छन्। उनले यसले अमेरिकी राष्ट्रिय सुरक्षामा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएकी छिन्। उनले भनिन्, ‘मानिसहरूले उनलाई व्यक्तिगत रूपमा मन पराउन सक्छन्। तर कथित चिनियाँ जासुससँगको उनको सम्बन्धलाई हामीले किन बेवास्ता गरिरहेका छौँ?’
यस विषयमा रिपब्लिकन पार्टीका कम्तीमा तीन सिनेटरले पनि असन्तुष्टि जनाएका छन्। अर्कान्सासका टम कटन, युटाका जोन कर्टिस र नेब्रास्काका पिट रिकेट्सले हुआङको पुनरागमनले अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै असर पारेको छैन भन्ने विषयमा आफूहरू अझै विश्वस्त हुन नसकेको बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रकाशित: ८ मंसिर २०८३ १८:२३ मंगलबार
-600x400.jpg)


