अन्तर्राष्ट्रिय

ग्रीनल्याण्डबारे ऐतिहासिक सम्झौता भएको ट्रम्पको घोषणा

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क र ग्रीनल्याण्डसँग अमेरिकालाई ग्रीनल्याण्डको सुरक्षा तथा अन्य आवश्यकतामा स्थायी अधिकार दिने सम्झौता भएको दाबी गरेका छन्।

उनले शनिबार आफ्नो ट्रुथ सोसल खातामा वक्तव्य जारी गर्दै अमेरिकाले डेनमार्क र ग्रीनल्याण्डसँग सम्झौता गरेको बताएका हुन्। ट्रम्पका अनुसार सम्झौताले ग्रीनल्याण्डमा अमेरिकाको सुरक्षा र अन्य आवश्यकतासम्बन्धी अधिकारलाई स्थायी बनाएको छ।

‘अमेरिकाले ग्रीनल्याण्डमा सुरक्षा र अन्य सबै आवश्यकतामा स्थायी नियन्त्रण पाउने गरी सम्झौता गरेको छ। यसले अमेरिकाका सबै प्रमुख सुरक्षा चिन्तालाई सम्बोधन गरेको छ,’ ट्रम्पले भनेका छन्।

उनले सम्झौताका लागि अमेरिकाले कुनै रकम खर्च गर्न नपर्ने दाबीसमेत गरे। अब अमेरिकाले ग्रीनल्याण्डको सुरक्षा र आफ्नो सुरक्षाका लागि आवश्यक काम गर्न सधैँ पूर्ण क्षमता राख्ने उनको भनाइ छ।

ट्रम्पले अमेरिकी विरोधी कुनै पनि देशले अमेरिकाको लिखित स्वीकृतिबिना ग्रीनल्याण्डमा सैन्य आधार स्थापना गर्न, सैन्य उपस्थिति राख्न वा संवेदनशील क्षेत्रमा लगानी गर्न नपाउने बताए। उनले यो सम्झौतालाई ‘अनन्त जीवन’ भएको सम्झौताको संज्ञा दिँदै यसको कुनै अन्त्य नहुने दाबी गरेका छन्।

‘१०० वर्षभन्दा बढी समयदेखि अमेरिकी राष्ट्रपतिहरूले ग्रीनल्याण्डको रणनीतिक महत्त्व बुझ्दै आएका थिए। तर कसैले पनि यसबारे केही गर्न सकेनन्। यो विषयलाई स्थायी र निर्णायक रूपमा सम्बोधन गर्ने राष्ट्रपति हुन पाउँदा म गर्व गर्छु,’ ट्रम्पले थप लेखेका छन्।

उनले ग्रीनल्याण्डका उपयुक्त क्षेत्रमा ठुलो अमेरिकी सैन्य उपस्थिति विकास गर्ने प्रक्रिया तत्काल सुरु हुने पनि बताए। त्यसका लागि ग्रीनल्याण्डका मानिससँग सहकार्य गरेर पूर्वाधार विकास र निर्माण गरिने उनले उल्लेख गरेका छन्।

सम्झौताअन्तर्गत अमेरिकाले ग्रीनल्याण्डमा स्थायी सैन्य पहुँच, आधार सञ्चालन र हवाई उडान अधिकार पाउने अमेरिकी पक्षको दाबी छ। आवश्यक परे थप सैन्य प्रतिष्ठान स्थापना गर्न सक्ने अधिकार पनि अमेरिकालाई रहनेछ।

अमेरिकी विदेश सचिव मार्को रुबियोले सम्झौतालाई अमेरिकी सुरक्षा हितका लागि महत्त्वपूर्ण भएको बताएका छन्। उनका अनुसार यसले ग्रीनल्याण्डमा अमेरिकी राष्ट्रिय सुरक्षा चासोलाई स्थायी रूपमा सम्बोधन गर्नेछ।

अमेरिकाले यसअघि नै सन् १९५१ को रक्षा सम्झौताअन्तर्गत ग्रीनल्याण्डमा सैन्य पहुँच राख्दै आएको छ। त्यहाँ अमेरिकाले पिटुफिक स्पेस बेस पनि सञ्चालन गर्दै आएको छ।

तर डेनमार्क र ग्रीनल्याण्डले शुक्रबार जारी गरेको संयुक्त वक्तव्यअनुसार सम्झौता अझै संसदीय अनुमोदनको प्रक्रियामा छ। नुउक र कोपेनहेगन दुवैबाट अनुमोदन आवश्यक पर्नेछ।

डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले सम्झौताले डेनमार्कको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता तथा ग्रीनल्याण्डका जनताको आत्मनिर्णयको अधिकारलाई मान्यता दिने बताइन्। 

उता, ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक निल्सनले पनि अमेरिकासँगको सम्झौताले क्षेत्रको सुरक्षा मजबुत बनाउने बताएका छन्।

यसअघि ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको बताउँदै आएका थिए। अमेरिकाले आर्कटिक क्षेत्रमा रूस र चीनको बढ्दो गतिविधिका कारण ग्रीनल्याण्डको रणनीतिक महत्त्व अझ बढेको तर्क गर्दै आएको थियो। एजेन्सीको सहयोगमा

प्रकाशित: ३ आश्विन २०८३ ०९:२१ शनिबार