अन्तर्राष्ट्रिय

होर्मुजमा अमेरिकी आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु

बुधबार होर्मुजको जलमार्ग नजिकै तेल ट्याङ्कर एमटी सेटेबेलोमा भएको अमेरिकी आक्रमणमा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ। केन्द्रीय मन्त्री सर्वानन्द सोनोवालले यसको पुष्टि गरे। उनले अहिलेसम्म दुई जनाको शव निकालिएको बताए।

यसअघि विदेश मन्त्रालयले जहाजमा सवार २४ भारतीयमध्ये २१ जनालाई सकुशल उद्धार गरिएको बताएको थियो भने ३ जना भारतीय बेपत्ता रहेको जनाएको थियो।

यसैबीच, अमेरिका र इरानले बिहीबार लगातार दोस्रो दिन पनि आफ्नो आक्रमण जारी राखे। ट्रम्पले अमेरिकी सेनाले ४९ वटा टोमाहक क्षेप्यास्त्र प्रहार गरेको र लडाकु विमानहरूबाट आक्रमण पनि गरेको बताए।

इरानी मिडियाका अनुसार केश्म टापु, बन्दर अब्बास, मिनाब र सिरिकमा विस्फोटको आवाज सुनिएको थियो। प्रतिक्रियामा इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरेको दाबी गरेको छ। यद्यपि, कुनै हताहत भएको छैन।

प्रकाशित: २८ जेष्ठ २०८३ १२:४१ बिहीबार