अन्तर्राष्ट्रिय

न्यूयोर्कको होटलमा गोली चल्दा तीनको मृत्यु, आठ घाइते

आइतबार अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिनको 'टेस्ट अफ द सिटी लाउन्ज' होटलमा गोलीकाण्ड हुँदा तीन जनाको मृत्यु भएको छ। सो घटनामा आठ जना घाइते भएका छन्। 

न्यूयोर्क प्रहरी आयुक्त जेसिका टिशका अनुसार भीडभाड भएको बेला लाउन्जमा आपसी विवादपछि गोली चलेको थियो। मृतक तीनै जना पुरुष हुन्, जसमा २७ वर्षीय, ३५ वर्षीय र अर्को एकजना अज्ञात उमेरका पुरुष छन्। घाइते आठ जनालाई नजिकैका अस्पतालमा लगिएको छ। उनीहरूको अवस्था गम्भीर छैन।

प्रहरीले धेरै बन्दुकधारी संलग्न भएको र कम्तीमा ३६ कारतूस प्रयोग भएको बताएको छ। घटनास्थलबाट एउटा बन्दुक बरामद भएको छ। तर यो गोलीकाण्डसँग सम्बन्धित छ कि छैन भन्ने यकिन भएको छैन। अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा अनुसन्धान गरिरहेको छ।

यो होटल २०२२ मा खुलेको थियो। यहाँ अमेरिकी तथा क्यारिबियन खाना, हुक्का, बार र डीजे संगीतका लागि परिचित छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रेस्टुरेन्टभित्र रगतका दाग र फुटेका सिसा देखिएका छन्।

न्यूयोर्कमा यो वर्ष जनवरीदेखि जुलाईसम्म ४१२ गोलीकाण्डका घटना रेकर्ड भएका छन्, जुन प्रहरीका अनुसार अघिल्ला वर्षहरूको तुलनामा कम हो। एजेन्सी

प्रकाशित: १ भाद्र २०८२ २२:०५ आइतबार