अन्तर्राष्ट्रिय

घर फर्किने दिन अचानक सम्पर्कविहीन भएका तीन बेलायती महिला भेटिए

दक्षिण अफ्रिका घुम्न गएर घर फर्किने क्रममा सम्पर्कविहीन भएका तीन बेलायती महिला सकुशल फेला परेका छन्। 

निर्धारित समयमा बेलायत नफर्किएपछि उनीहरूका परिवारले प्रहरीमा खबर गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।

सकुशल भेटिएका महिलाहरूमा लिज ओसबोर्न, उनकी भतिजी किम्बर्ली ल्याङ्ली र साथी मेल राइट रहेका छन्। उनीहरू बेलायतको मार्केट हार्बोरो क्षेत्रका बासिन्दा हुन्। तीनै जना अक्टोबर २२ मा दक्षिण अफ्रिका घुम्न गएका थिए। उनीहरू अक्टोबर ३० देखि नोभेम्बर १ बिचमा बेलायत फर्किने कार्यक्रम थियो।

तर, निर्धारित समयमा घर नफर्किएपछि र परिवारका सदस्यसँग सम्पर्कमा नआएपछि आफन्त चिन्तित भएका थिए। लिजकी छोरी कोर्टनीले नोभेम्बर ४ मा तीनै जना बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत पनि आमासहित तीनै जनालाई खोज्न सहयोग गर्न आग्रह गरेकी थिइन्।

उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘मेरी आमा लिज ओसबोर्न, मेरी काकाकी छोरी किम्बर्ली ल्याङ्ली र उनकी साथी मेल राइट बेपत्ता भएका छन्। कसैसँग उनीहरूबारे कुनै जानकारी भए मलाई वा प्रहरीलाई जतिसक्दो चाँडो खबर गरिदिनुहोला।’

स्थानीय सञ्चारमाध्यम हार्बोरो एफएमका अनुसार तीनै जना महिला सकुशल भेटिएका हुन्। यद्यपि, उनीहरू कहाँ र कुन अवस्थामा फेला परेका हुन् भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

जानकारीअनुसार उनीहरू फर्किने क्रममा रहेको विमान फ्रान्सतर्फ डाइभर्ट भएको हुन सक्ने अनुमान गरिएको छ। 

धेरै दिनसम्म सम्पर्कविहीन भएपछि उनीहरूको अवस्थाबारे चिन्ता बढेको थियो। तीनै जना सकुशल भेटिएको खबर सार्वजनिक भएपछि परिवार र आफन्तले राहत महसुस गरेका छन्।

प्रकाशित: २० कार्तिक २०८३ १३:४८ शुक्रबार