अन्तर्राष्ट्रिय

दुबईबाट दुई करोड ५० लाख डलरको हीरा चोरी, तीन जना पक्राउ

दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको गुलाबी हीरा चोरेको केही घण्टामै तीन जना आरोपित व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।  

संयुक्त अरब इमिरेट्स (युएई) को आधिकारिक समाचार संस्था डब्लूएएमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुबई पुलिस जनरल कमान्डले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको गुलाबी हीरा चोरी गर्ने व्यक्तिलाई सुरक्षा नियन्त्रणमा लिएको छ।’ 

युरोपबाट गहना लिएर आएका एक हीरा व्यापारीलाई एक आपराधिक गिरोहले आफूसँग एक सम्भावित धनाढ्य ग्राहक देखेको बहाना गरी ती व्यापारीको हीरा बेचिदिने बहाना गरी भिल्लामा लगेका तर नक्कली हीरा व्यापारीले हीरा हेर्ने बहानामा उक्त रत्न चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको विज्ञप्तिमा उल्लेख छ।  

दुबई प्रहरीको ‘विशेष र फिल्ड टोलीहरूको प्रयास र नवीनतम एआई प्रविधि प्रयोग गरेर’ घटनामा संलग्न भनिएका तीन जनालाई आठ घण्टाभित्रै पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

दुबई मिडिया अफिसले सार्वजनिक गरेको भिडियो फुटेजमा पक्राउ परेका अभियुक्तको अस्पष्ट अनुहारसहित गिरोहका तीनै जनालाई देखिएको छ।  

दुबई हीरा व्यापारको लागि एक महत्वपूर्ण केन्द्र हो। संयुक्त अरब अमीरातले कडा प्रहरी सुरक्षा नियन्त्रणमा गर्व गर्छ। एएफपी

प्रकाशित: २ भाद्र २०८२ २०:४५ सोमबार