अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा ‘लिटिल पेन्गुइन’लाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अधिकारीहरूले लोकप्रिय पर्यटकीय स्थलका पाँच हजार ‘लिटिल पेन्गुइन’लाई बर्ड फ्लुविरुद्ध खोप लगाउन थालेका छन्।

राज्य सरकारले सुरु गरेको संरक्षण कार्यक्रमअन्तर्गत मेलबर्नको दक्षिणमा रहेको फिलिप आइल्याण्ड नेचर पार्कका कर्मचारीले आइतबार राति एक हजार लिटिल पेन्गुइनलाई बर्डफ्लु खोपको पहिलो मात्रा दिएका छन्।

अत्यधिक सङ्क्रामक बर्डफ्लु भाइरसको सङ्क्रमण देशभर फैलिरहेका बेला फिलिप आइल्याण्ड र मेलबर्नको सेन्ट किल्डामा रहेका पाँच हजार लिटिल पेन्गुइनलाई खोप लगाउने योजना बनाइएको हो।

फिलिप आइल्याण्डमा विश्वकै सबैभन्दा ठूलो लिटिल पेन्गुइन समूह रहेको छ। अष्ट्रेलिया र न्युजिल्यान्डका रैथाने मानिने यी पेन्गुइनको सङ्ख्या यहाँ करिब ४० हजार रहेको अनुमान छ।

फिलिप आइल्याण्डको ‘पेन्गुइन परेड’ भिक्टोरियाको लोकप्रिय पर्यटकीय आकर्षणमध्ये एक हो। यहाँ साँझपख समुद्रबाट बासस्थानतर्फ फर्किरहेका पेन्गुइन हेर्न पर्यटकहरू पुग्ने गर्छन्। सन् २०२५ मा सात लाखभन्दा बढी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए।

भिक्टोरियाकी वातावरणमन्त्री ज्याक्लिन साइम्सले खोपको पहिलो मात्रा लगाइएका पेन्गुइनलाई तीनदेखि चार सातापछि पुनः समातेर दोस्रो मात्रा दिइने बताए।

‘बर्ड फ्लु यहाँ आइसकेको छ र यसलाई रोक्न सकिँदैन, तर पेन्गुइनको समूहलाई सकेसम्म सुरक्षित राख्न हामीले सक्दो प्रयास गर्न चाहन्छौँ’ उनले अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनलाई बताए।

राज्यको वातावरण विभागको सन् २०२५ को प्रतिवेदनअनुसार फिलिप आइल्याण्डका लिटिल पेन्गुइनमा बर्ड फ्लुको प्रकोप फैलिएमा मृत्युदर ४० प्रतिशतसम्म पुग्न सक्छ।

फिलिप आइल्याण्डमा अगस्ट १५ मा लिटिल पेन्गुइनमा अष्ट्रेलियाकै पहिलो बर्डफ्लु सङ्क्रमण पुष्टि भएको थियो।सिन्ह्वा

प्रकाशित: ८ भाद्र २०८३ १६:३१ सोमबार