चन्द्रमामा लाखौँ मानिस बस्ने ‘सेल्फ-ग्रोइङ’ (स्व-बढ्दो) सहर बनाउने एलन मस्कको योजनाका लागि त्यहाँ उपलब्ध पानी पर्याप्त नहुने एउटा नयाँ अध्ययनले देखाएको छ।
‘फ्रन्टियर्स इन स्पेस टेक्नोलोजीज’ जर्नलमा प्रकाशित अनुसन्धानअनुसार १० लाखभन्दा बढी जनसंख्या भएको सहरले उपलब्ध पानी पुनः प्रयोग नगरी प्रयोग गर्दा करिब दुई वर्ष चार महिनामै पानीको स्रोत सकिनेछ। उक्त पानी व्यक्तिगत प्रयोग, कृषि, भारी उद्योग र डेटा सेन्टरका लागि प्रयोग हुने अनुमान गरिएको छ।
अनुसन्धानकर्ताका अनुसार पानीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) जस्तै ९८ प्रतिशतसम्म पुनः प्रयोग गर्न सके १० लाख जनसंख्या भएको सहरले करिब १०० वर्षसम्म आफूलाई धान्न सक्छ। करिब एक लाख जनसंख्या भएको सानो सहरले भने करिब एक हजार वर्षसम्म पानीको स्रोत धान्न सक्ने अध्ययनमा उल्लेख छ।
अनुसन्धानकर्ताले करिब एक हजार मानिस बस्ने ‘मुन भिलेज’ (चन्द्र गाउँ) तुलनात्मक रूपमा बढी दिगो हुने बताएका छन्। यस्तो बस्तीमा पानीको प्रयोगमा ठुलो दबाब नपर्ने उनीहरूको अनुमान छ।
उनीहरूले चन्द्रमामा करिब तीन करोड ४० लाख टन पानी रहेको अनुमान गरेका छन्। तर यो अनुमान कम हुन सक्ने भन्दै अध्ययनमा एक अर्ब टन पानीलाई आधार मानेर पनि हिसाब गरिएको छ।
अध्ययनका प्रमुख लेखकहरूमध्येका डा. मार्टिन एल्विसले फोर्ब्सलाई दिएको जानकारीअनुसार १० हजार मानिस भएको चन्द्र गाउँ वा सानो सहरमा हजारौँ वर्षसम्म पानीको अभाव नहुन सक्छ। तर एक अर्ब टन पानी उपलब्ध हुने अनुमान पनि उदार भएको उनले बताए।
एल्विसका अनुसार चन्द्रमामा पानीको वास्तविक मात्रा अनुमानभन्दा २० देखि ३० गुणासम्म कम हुन सक्छ। पानी पुनः प्रयोगको दर ३० प्रतिशत मात्रै भए यस्तो आकारको सहर करिब १०० वर्षसम्म मात्र दिगो हुन सक्ने उनको भनाइ छ। ‘चन्द्रमामा सहर निर्माण गर्नुअघि धेरै अनुसन्धान आवश्यक छ,’ एल्विसले भने।
खोजकर्ताका अनुसार चन्द्रमाको ध्रुवीय क्षेत्रमा रहेका ठुला खाडलमा बरफका रूपमा पानी भेटिन सक्छ। केही खाडलमा करिब चार अर्ब वर्षदेखि सूर्यको प्रकाश नपरेको अनुमान गरिएको छ। यस्ता क्षेत्रलाई ‘चिसो पासो’ भनिन्छ। यहाँको तापक्रम अत्यन्त कम हुने भएकाले पानी बरफका रूपमा रहन सक्ने अनुसन्धानकर्ताले बताएका छन्।
चन्द्रमामा पानीको अभाव समाधान गर्न पानीलाई अझ प्रभावकारी रूपमा पुनः प्रयोग गर्ने, ठाडो खेतीजस्ता प्रविधिबाट पानीको प्रयोग घटाउने, नजिकका क्षुद्र ग्रहबाट पानी ल्याउने वा चन्द्रमामै थप पानीको स्रोत खोज्ने विकल्प पनि अध्ययनमा उल्लेख छ।
स्पेसएक्सका प्रमुख मस्कले आगामी केही वर्षभित्र चन्द्रमामा ‘स्व-बढ्दो सहर’ निर्माणलाई प्राथमिकता दिने बताएका छन्। उनले भविष्यमा चन्द्रमामा हजारौँ मानिस बस्ने आत्मनिर्भर सहर निर्माण गर्ने योजना पनि सार्वजनिक गरेका छन्। मस्कसहित अन्य अन्तरिक्ष व्यवसायीले भारी उद्योग र डेटा सेन्टरलाई भविष्यमा अन्तरिक्षमा लैजाने योजनाबारे पनि बताउँदै आएका छन्।
तर नयाँ अध्ययनले ठुलो जनसंख्या भएको चन्द्र सहर निर्माण गर्दा पानीको उपलब्धता प्रमुख चुनौती बन्न सक्ने देखाएको छ। अनुसन्धानकर्ताका अनुसार चन्द्रमामा ठुलो सहर निर्माण गर्नुअघि त्यहाँ उपलब्ध पानीको वास्तविक मात्रा र त्यसलाई प्रयोग तथा पुनः प्रयोग गर्ने क्षमताबारे थप अनुसन्धान आवश्यक छ।
प्रकाशित: ३ आश्विन २०८३ १४:०५ शनिबार