आइतबार भएको माथिल्लो सदनको चुनावमा जापानको सत्तारूढ गठबन्धनले बहुमत गुमाएको छ। प्रधानमन्त्री शिगेरु इशिबा नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र त्यसको सहयोगी कोमिटो पार्टीले ठूलो हार ब्यहोर्नुपरेको हो। गठबन्धनले २४८ सदस्यीय माथिल्लो सदनमा चाहिने १२५ सिटको सट्टा ४९ सिट मात्र जितेका छ, जुन बहुमत भन्दा कम हो।
यो हारले इशिबाको सरकारलाई कमजोर बनाएको छ। यसअघि सत्ता गठबन्धनले गत अक्टोबर २०२४ मा भएको तल्लो सदनको निर्वाचनमा पनि बहुमत गुमाएको थियो। जापानको संसदीय प्रणालीमा तल्लो सदन शक्तिशाली मानिन्छ। माथिल्लो सदनमा भएको हारले इशिबालाई नीति बनाउन कठिनाइ भएको छ।
हारेपछि पनि इशिबाले राजीनामा नदिने उल्लेख गरेका छन्। आफ्नो कार्यकाल चलाउने उनको दाबी छ। उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई आफ्नो मुख्य प्राथमिकता भनिरहेका छन्। ‘जापानले अगस्ट १, २०२५ सम्ममा अमेरिकासँगको व्यापार सम्झौता अन्तिम गर्नुपर्छ। यो मेरो ठूलो जिम्मेवारी हो,’ इशिबाले भने।
विपक्षी संवैधानिक डेमोक्रेटिक पार्टी (सीडीपी) ले २१ सिट जितेर दोस्रो स्थान पाएको छ भने डेमोक्रेटिक पार्टी फर द पिपल (डीपीपी) ले १५ सिट र दक्षिणपन्थी सान्सेइतो पार्टीले १२ सिटमा जित निकालेका छन्। बढ्दो महँगी, आप्रवासन नीति र आर्थिक अनिश्चितताले मतदातालाई साना विपक्षी दलतर्फ आकर्षित गरेको देख्न सकिन्छ।
यो नतिजाले जापानको अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्न सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँगको व्यापार वार्तामा कडा अडान राखेका छन्। आफ्नो सर्तमा सम्झौता नभए जापानी निर्यातमा २५ प्रतिशत कर लगाउने उनको धम्की छ। इशिबालाई अब बजेट र कानुन पारित गर्न विपक्षी दलको समर्थन चाहिन्छ। एजेन्सी
प्रकाशित: ५ श्रावण २०८२ ११:४८ सोमबार