इरानले होर्मुज जलमार्ग नजिकै १० वटा जहाजमा आक्रमण गरेको बताएको छ।
अमेरिकाले पाँच इरानी तेल ट्यांकर डुबाएपछि इरानले दुई अमेरिकी जहाज र आठ तेल ट्यांकरलाई निशाना बनाएको हो। युद्ध सुरु भएयता दुवै पक्षबाट जहाजमाथि भएको यो सबैभन्दा ठुलो आक्रमण मानिएको छ।
आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य थप बढेको छ। बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य जुलाईपछि पहिलो पटक प्रतिब्यारेल १०० डलर नाघेको छ। दुबई नजिकै रहेको ‘हर्कुलस स्टार’ नामक ट्यांकरमा एक नाविकको मृत्यु भएको र अर्का एक जना बेपत्ता भएको बताइएको छ।
इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। जोर्डनले १८ क्षेप्यास्त्र रोकेको र बाँकी दुई निर्जन क्षेत्रमा खसेको जनाएको छ। अमेरिकी अधिकारीका अनुसार सबै अमेरिकी सैनिक सुरक्षित छन्।
इरानको सिरिकका विभिन्न क्षेत्रमा पनि आक्रमण भएको र मिनाब काउन्टी तथा केश्म टापुसहित तटीय क्षेत्रमा धेरै विस्फोटको आवाज सुनिएको इरानी राज्य सञ्चार माध्यमले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि चुनावलगत्तै युद्ध ‘तुरुन्तै’ समाप्त हुने दाबी गरेका छन्। उनले तेलको मूल्य घट्ने पनि बताएका छन्। तेहरानसँग वार्ता हुन सक्ने भए पनि वासिङ्टनले अहिले सक्रिय रूपमा सम्झौता नखोजेको उनको भनाइ छ।
इरानको विदेश मन्त्रालयले क्षेत्रीय राष्ट्रहरूसँग वार्ताका लागि तयार रहेको बताएको छ। तेहरानले पारस्परिक विश्वास बढाउने, दिगो सुरक्षा कायम गर्ने र आर्थिक प्रगति अघि बढाउने उद्देश्यले वार्ता गर्न सकिने बताएको हो।
यसैबिच, इरानी रिभोलुसनरी गार्डले थप आक्रमण भए त्यसको जवाफ अझ कडा बनाउने चेतावनी दिएको छ। इरानले समुद्रमा नयाँ र विस्तारित ‘अफ-लिमिट’ क्षेत्रको नक्सा सार्वजनिक गर्ने पनि बताएको छ, जुन पाकिस्ताननजिकको चाबहारसम्म फैलिनेछ।
अमेरिकी सेनाले पछिल्लो एक सातामा १० इरानी तेल ट्यांकरमाथि आक्रमण गरेको बताएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौसेनाका जहाजलाई आक्रमण गर्ने प्रयास गरे हरेक पटक इरानले ट्यांकर गुमाउने बताएका छन्।
होर्मुज जलमार्गबाट हुने तेल आपूर्ति पनि घटेको छ। राइस्टाड इनर्जीका अनुसार अगस्ट ३० मा युद्ध पुनः सुरु हुनुअघि दैनिक ८० लाखदेखि ९० लाख ब्यारेलसम्म तेल प्रवाह हुँदै आएकोमा अहिले यो दैनिक २० लाख ब्यारेलसम्म झरेको छ। एजेन्सीको सहयोगमा
प्रकाशित: २५ भाद्र २०८३ ०७:०४ बिहीबार