अन्तर्राष्ट्रिय

फ्रान्सभर दशौं हजार नागरिक सडकमा: १३५ प्रदर्शनकारी पक्राउ, कयौं सहरमा कर्फ्यु र अश्रुग्यास

फ्रान्सभर चर्केको देशव्यापी विशाल प्रदर्शनका क्रममा प्रहरीले शनिबार १ सय ३५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

दशौं हजार नागरिक सडकमा उत्रिएपछि सुरक्षा नियन्त्रणका लागि प्रहरीले राजधानी पेरिससहित विभिन्न सहरमा अश्रुग्यास, पानीको फोहोरा र रात्रि कर्फ्युको सहारा लिएको छ।

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले शनिबार दिउँसो १ बजेसम्म देशभरबाट १३५ जनालाई नियन्त्रणमा लिइसकिएको पुष्टि गरेका छन्।

अवस्था तनावग्रस्त बनेपछि फ्रान्सको उत्तरी क्षेत्रका प्रमुख सहरहरूमा अभिभावकविहीन नाबालिगहरूलाई लक्षित गरी रात्रि कर्फ्यु घोषणा गरिएको छ।

लिल, देनाँ, दुवे, वाटिनिज, मार्ली र भालेन्सियन्स लगायतका सहरमा राति ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि लगाइएको कर्फ्यु सोमबार बिहानसम्म लम्ब्याइएको स्थानीय प्रशासनले जनाएको छ।

लियोन सहरस्थित लियोन ३ विश्वविद्यालय नजिक भेला भएका करिब १५० जना युवा प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

अनधिकृत र्‍याली निकालेको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि लियोनका कयौं संवेदनशील क्षेत्रमा प्रदर्शन गर्न समेत प्रतिबन्ध लगाइएको छ।

यस्तै, मोन्टपेलियर, न्यान्सी, काएन र आनेसी सहरमा पनि स्थानीय प्रशासनले प्रदर्शनका लागि अनुमति दिन अस्वीकार गरेको छ।

ग्रोनोबलमा प्रदर्शनकारीले ‘ए४८०’ मोटरवे अवरुद्ध गर्न खोज्दा दुई सवारीसाधन एकापसमा ठोक्किएर दुईजना सामान्य घाइते भएका छन्।

नाँत सहरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीमाथि प्रहरीले चेतावनी दिँदै अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

यता राजधानी पेरिसमा सम्भावित हिंसा रोक्न प्रहरीले ६ सय ३५ स्थानमा कडा सुरक्षा जाँच गरेको छ। जाँचका क्रममा प्रहरीले चक्कु, एंगल ग्राइन्डर, ग्यास मास्क र डाइभिङ गगल्सजस्ता प्रतिबन्धित तथा सुरक्षात्मक सामग्री बरामद गरेको जनाएको छ। निस सहरमा समेत घातक हतियार र सुरक्षात्मक उपकरण बोकेको आरोपमा करिब १० जनालाई पक्राउ गरिएको छ।

जिरोन्ड क्षेत्रमा पनि १३ जनाको साथबाट जोखिमयुक्त सामग्री बरामद भएको त्यहाँको प्रशासनले जनाएको छ।

प्रदर्शनको नेतृत्व गरिरहेको ‘यलो भेस्ट्स’ (पहेँलो भेस्ट) आन्दोलनले शनिबार देशभर ७ सयभन्दा बढी स्थानमा विरोध प्रदर्शन आयोजना गरिएको दाबी गरेको छ। दक्षिण-पश्चिमी सहर बोर्डो र उत्तर-पूर्वी सहर स्ट्रासबर्गमा दशौं हजार नागरिकले ‘प्रतिरोध’ लेखिएका प्लेकार्डसहित विशाल जुलुस निकालेका छन्।

राजधानी पेरिसको जुलुसमा फ्रान्सका वामपन्थी नेता तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जँ-लुक मेलँसो समेत मुट्ठी उठाएर सहभागी भएका थिए। पेरिसको सडकमा प्रदर्शनकारीहरूले युरोपभर चर्चित विरोध-गीत ‘बेला चाओ’ गाउँदै र नाच्दै सरकारविरुद्ध आवाज बुलन्द पारेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले आन्दोलन अब शिक्षाको पुरानो मागमा मात्र सीमित नरहेर नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको लडाइँ बनिसकेको बताएका छन्।

विद्यार्थी जुलियन-ग्याब्रिएल डेरेले भने, ‘हामी केवल राज्यसमक्ष माग राख्न मात्र होइन, आफ्नै देशमा प्रदर्शन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सडकमा आएका हौं।’

शान्तिपूर्ण प्रदर्शनकारीको आवाज नसुनेका कारण उत्पन्न आक्रोशको जिम्मेवारी सरकारले लिनुपर्ने प्रदर्शनकारीहरूको भनाइ छ।

फ्रान्सका अधिकांश प्रमुख सहरमा प्रदर्शन जारी रहेकाले सुरक्षा सतर्कता थप कडा पारिएको छ।

प्रकाशित: ७ कार्तिक २०८३ १९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App