अन्तर्राष्ट्रिय

१८ वर्षीय विद्यार्थीसँग भेट्न चार पटक होटल बुक गर्ने शिक्षिकालाई ६ महिना जेल

अमेरिकाको मिनेसोटामा विद्यार्थीसँग यौन सम्बन्ध राखेको अभियोगमा एक पूर्वशिक्षिकालाई ६ महिना जेल सजाय सुनाइएको छ।

२७ वर्षीया एन मार्गरेट बेकनले आफूले पढाउने १८ वर्षीय विद्यार्थीसँग सम्बन्ध राखेको स्वीकार गरेपछि अदालतले उनलाई १८० दिनको जेल सजाय सुनाएको हो।

पायोनियर प्रेसका अनुसार बेकनले सुरुमा विद्यार्थी विद्यालयमा पढ्दै गर्दा सम्बन्ध राखेको अस्वीकार गरेकी थिइन्। विद्यार्थीले टार्टन हाई स्कुलबाट पढाइ पूरा गरेको एक महिनापछि मात्रै सम्बन्ध सुरु भएको उनको दाबी थियो।

तर, आफू र विद्यार्थी होटलको कोठामा रहेको तस्बिर सार्वजनिक भएपछि उनले विद्यार्थी पढ्दै गर्दादेखि नै सम्बन्ध सुरु भएको स्वीकार गरेकी थिइन्।

बेकनले विद्यार्थीसँग भेट्न एउटै होटलमा कम्तीमा चार पटक कोठा बुक गरेकी थिइन्। उनले मे ८, जुन ४, जुन ११ र जुलाई ४ मा होटलको कोठा लिएको डेली मेलले जनाएको छ।

विद्यार्थी १८ वर्षको भए पनि मिनेसोटाको कानुनअनुसार शिक्षकले आफ्ना विद्यार्थीसँग यौन सम्बन्ध राख्न पाउँदैनन्। यस्तो सम्बन्धलाई कानुनले अपराध मान्न सक्छ।

उजुरीअनुसार सन् २०२४ मा विद्यालयका एक सुरक्षा अधिकारी र प्रशासनले बेकनको विद्यार्थीसँगको सम्बन्ध र मदिरा खरिद गरेको विषयमा प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो।

बेकनले प्रहरीलाई आफू आमाबुवाको घरको बेसमेन्टमा बस्ने भएकाले विद्यार्थीसँग भेट्न होटलका कोठा भाडामा लिएको बताएकी थिइन्।

एक साक्षीले मे महिनाको सुरुमै बेकन र विद्यार्थीबिच सम्बन्ध रहेको थाहा पाएको बताएकी थिइन्। त्यतिबेला विद्यार्थी बेकनकै कक्षामा पढ्थे। उनले जुलाईमा विद्यालय प्रशासनलाई यसबारे जानकारी गराएकी थिइन्। तर, प्रमाण नभएकाले तत्काल थप कारबाही हुन सकेको थिएन।

पछि फेब्रुअरीमा उनले फेरि उजुरी गरेकी थिइन्। बेकन अझै विद्यालयमा पढाइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेकी थिइन्।

विद्यार्थीकी पूर्वप्रेमिकाले पनि प्रहरीलाई बेकन र विद्यार्थीबिचको सम्बन्धबारे जानकारी दिएकी थिइन्। उनका अनुसार विद्यार्थीले मे महिनादेखि नै बेकनसँग गोप्य रूपमा भेटघाट गर्न थालेका थिए।

अगस्टमा पूर्वप्रेमिका र विद्यार्थीबिच फेरि सम्बन्ध सुरु भएपछि उनले बेकन र विद्यार्थीबिच यौन सन्देश तथा नग्न तस्बिर आदानप्रदान भएको थाहा पाएकी थिइन्।

अदालतका कागजातअनुसार बेकन होटलमा विद्यार्थी र उनका साथीहरूसँग मदिरा सेवन गरिरहेको तस्बिरमा पनि देखिएकी थिइन्। विद्यार्थीले प्रहरीलाई आफू र बेकन प्रेम सम्बन्धमा रहेको बताएका थिए। उनी बेकनको नयाँ अपार्टमेन्टमा समेत बसेको खुलेको थियो।

बेकनले प्रहरीलाई उनीहरूको सम्बन्ध जुलाईमा अन्त्य भएको तर नोभेम्बरमा फेरि भेटघाट सुरु भएको बताएकी थिइन्। उनले किशोरहरूका लागि मदिरा किनेको आरोप भने अस्वीकार गरेकी थिइन्।

तर, जुन महिनामा 'लिक' उल्लेख भएको ४० डलरको भेन्मो भुक्तानी पाएको उनले स्वीकार गरेकी थिइन्। उक्त रकम कसले र के प्रयोजनका लागि पठाएको थियो भन्ने आफूलाई याद नभएको उनको भनाइ थियो।

अदालतले बेकनलाई १८० दिन जेल सजायसँगै दुई वर्ष निगरानीमा राख्ने आदेश दिएको छ। पायोनियर प्रेसका अनुसार जेल सजायपछि उनले इलेक्ट्रोनिक निगरानीमा घरमै बसेर बाँकी सजाय पूरा गर्न सक्नेछिन्।

प्रकाशित: १४ कार्तिक २०८३ १३:५८ शनिबार