क्यानडाले चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्न खोजेपछि ताइवानले चिन्ता व्यक्त गरेको छ।
चीनमाथिको आर्थिक निर्भरताले भविष्यमा क्यानडा पनि राजनीतिक तथा आर्थिक दबाबमा पर्न सक्ने चेतावनी ताइवानका उपविदेशमन्त्री चेन मिङ-चीले दिएका छन्।
शनिबार क्यानडाको ह्यालिफ्याक्समा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा मञ्चका क्रममा एपीसँगको अन्तर्वार्तामा चेनले प्रधानमन्त्री मार्क कार्नीको चीनसँग सम्बन्ध सुधार्ने प्रयासप्रति चिन्ता व्यक्त गरेका हुन्।
कार्नीको चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्ने प्रयासबारे सोधिएको प्रश्नमा चेनले भने, ‘हामी चिन्तित छौं। हामी चिन्तित छौं।’
उनले चीनमाथिको आर्थिक निर्भरताले अर्को देशमाथि राजनीतिक दबाब सिर्जना गर्ने माध्यमका रूपमा काम गर्न सक्ने बताए। ताइवानले पनि विगतमा चीनमाथिको निर्भरताका कारण यस्तो अवस्था भोगेको उनको भनाइ छ।
चेनले स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा कार्नीले दिएको भाषणको प्रशंसा गरे। तर, लोकतान्त्रिक मूल्य र मान्यता साझा नगर्ने देशसँग क्यानडाले व्यापारिक सम्बन्ध विस्तार गर्नु उचित हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाए।
‘तपाईं आफ्नो साझेदारका रूपमा कसलाई रोज्न चाहनुहुन्छ ?’ उनले प्रश्न गरे।
चेनले क्यानडाले चीनसँगको सम्बन्धका कारण विगतमा भोगेको घटनासमेत सम्झाए। उनले पूर्वकूटनीतिज्ञ माइकल कोभ्रिग र व्यापारी माइकल स्पाभोरको उदाहरण दिँदै भने, ‘तपाईंसँग आफ्नै इतिहास छ। तपाईंसँग ती दुई माइकल छन्।’
सन् २०१८ मा क्यानडाले अमेरिकी सुपुर्दगी अनुरोधका आधारमा चिनियाँ प्रविधि कम्पनी हुवावेकी उच्च अधिकारी मेङ वान्झोउलाई पक्राउ गरेको थियो। त्यसको केही समयपछि चीनले क्यानडाका पूर्वकूटनीतिज्ञ कोभ्रिग र व्यापारी स्पाभोरलाई पक्राउ गरेको थियो।
उनीहरूलाई चीनले करिब तीन वर्ष नियन्त्रणमा राखेको थियो। सन् २०२१ सेप्टेम्बरमा मेङ चीन फर्किएकै दिन दुवै क्यानडेली नागरिक रिहा भएका थिए। उनीहरूको पक्राउलाई क्यानडा र पश्चिमा देशहरूले बन्धक कूटनीतिसँग जोडेर आलोचना गरेका थिए। तर, चीनले भने उनीहरूको नजरबन्द राजनीतिक रूपमा प्रेरित भएको आरोप अस्वीकार गर्दै आएको छ।
चेनको चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिका कारण क्यानडाले आफ्नो व्यापारिक सम्बन्ध विविधीकरण गर्न खोजिरहेका बेला आएको हो।
केही दिनअघि मात्रै क्यानडाका प्रधानमन्त्री कार्नीले चीनको सेन्जेनमा राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए। भेटका क्रममा दुवै देशले थप भन्सार सहुलियत दिने सहमति गरेका थिए। सहमतिअनुसार चीनले क्यानडाबाट निर्यात हुने करिब ४० करोड क्यानेडियन डलर बराबरका वस्तुमा भन्सार सहुलियत दिनेछ। त्यसको बदलामा क्यानडाले केही चिनियाँ स्टिल र आल्मुनियम उत्पादनमा दिँदै आएको भन्सार छुट दुई वर्ष थप गर्नेछ।
अमेरिकासँगको व्यापारिक तनाव बढिरहेका बेला क्यानडाले चीनलाई वैकल्पिक व्यापारिक साझेदारका रूपमा अघि बढाउन खोजेको छ। ट्रम्पले आगामी जनवरी १ देखि क्यानडाबाट आयात हुने सवारीसाधन र अटो पार्टपुर्जामा ५० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्।
कार्नीले अमेरिकासँगको वार्ताबाट क्यानडाको अटो उद्योगलाई जोगाउन नसकिए चिनियाँ सवारी उत्पादक कम्पनीसँग सहकार्य गर्न सकिने संकेत गरेका छन्। तर, चेनले चिनियाँ विद्युतीय सवारीसाधन क्यानडामै उत्पादन भए पनि त्यसमा प्रयोग हुने इन्टरनेटसँग जोडिने प्रविधिले सुरक्षा जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
उनका अनुसार यस्ता सवारीसाधनले क्यानडाका आफ्नै उत्पादक कम्पनीलाई प्रतिस्पर्धामा कमजोर बनाउन सक्छन्। साथै, सवारीसाधनमा जडान गरिएका प्रविधिमार्फत निगरानीको जोखिमसमेत रहन सक्छ।
यद्यपि, कार्नीले चीनसँगको क्यानडाको व्यापारिक सम्बन्ध अमेरिकाको बेइजिङसँगको सम्बन्धभन्दा फरक रहेको बताउँदै आएका छन्। उनका अनुसार क्यानडाले चीनमा मुख्यतः कृषि उत्पादन, ऊर्जा र अन्य वस्तु निर्यात गर्छ। अत्याधुनिक अर्धचालकजस्ता संवेदनशील प्रविधिको व्यापार भने प्रमुख विषय होइन।
चेनले ताइवानले पनि विगतमा चीनमाथिको आर्थिक निर्भरताका कारण राजनीतिक दबाब भोगेको बताए। त्यसपछि ताइवानले चीनसँगको व्यापार र लगानीमा निर्भरता घटाउँदै अन्य देशसँग आर्थिक सम्बन्ध विस्तार गरेको उनको भनाइ छ।
उनका अनुसार सन् २०१० मा चीनतर्फ जाने ताइवानको वैदेशिक लगानीको हिस्सा ८० प्रतिशतभन्दा बढी थियो। तर, गत वर्ष उक्त हिस्सा घटेर ३.८ प्रतिशतमा सीमित भएको छ। त्यस्तै, चीन र हङकङतर्फको ताइवानको निर्यात सन् २०२० मा कुल निर्यातको करिब ४४ प्रतिशत थियो। गत वर्ष घटेर करिब २७ प्रतिशतमा झरेको ताइवान सरकारको तथ्यांकले देखाएको चेनले बताए।
‘चीन आर्थिक अन्तरनिर्भरताको अवस्थालाई हतियारका रूपमा प्रयोग गर्न निकै सिपालु छ। राजनीतिक उद्देश्य पूरा गर्न उसले अर्को देशको निर्भरतालाई उपयोग गर्न सक्छ,’ उनले भने।
चेनले यसै साता सेन्जेनमा भएको चीनको उच्चस्तरीय शिखर सम्मेलनलाई पनि प्रतीकात्मक घटनाका रूपमा व्याख्या गरे। सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बिचमा बसेको तस्बिर सार्वजनिक भएको थियो।
उनले उक्त तस्बिरमार्फत सीले चीनलाई विश्वको प्रमुख शक्तिका रूपमा प्रस्तुत गर्न खोजेको आरोप लगाए। उनले सम्मेलनलाई वास्तविक उपलब्धिभन्दा बढी प्रतीकात्मक भएको टिप्पणी गरे।
यसैबिच, चेनले चीनले ताइवान वरिपरि सैन्य गतिविधि बढाइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार चिनियाँ पानीजहाजहरूले ताइवानलाई समुद्रबाट घेराबन्दी गर्ने सम्भावित रणनीतिको अभ्यास गरिरहेका हुन सक्छन्।
चीनसँगको सम्बन्धबारे चिन्ता व्यक्त गरे पनि चेनले कार्नीको अन्तर्राष्ट्रिय नेतृत्वको प्रशंसा गरेका छन्। उनले ताइवान र क्यानडाबिच लामो समयदेखि रोकिएको व्यापार सहकार्य सम्झौतामा हस्ताक्षर गर्ने कार्नीको प्रतिबद्धताको स्वागत गरे।
‘हामी प्रधानमन्त्री कार्नीको दृष्टिकोणको उच्च सम्मान गर्छौं। हामी पनि त्यसको हिस्सा बन्न चाहन्छौं,’ उनले भने।
प्रकाशित: ६ मंसिर २०८३ १५:४९ आइतबार