अन्तर्राष्ट्रिय

विद्यार्थी आन्दोलनले बदल्यो राजनीति, १४ वर्षदेखि सत्तामा रहेका भुचिकले माने हार

सर्बियाका लामो समयदेखि सत्तामा रहेका नेता एलेक्जान्डर भुचिकले संसदीय चुनावमा हार स्वीकार गरेका छन्। 

आइतबार भएको चुनावमा विद्यार्थी नेतृत्वको विपक्षी समूह ‘स्टुडेन्ट्स लिस्ट’ ले अग्रता लिएपछि भुचिकको सर्बियाली प्रगतिशील पार्टी (एसएनएस) को १४ वर्ष लामो सत्ता यात्रामा विराम लाग्ने देखिएको छ।

प्रारम्भिक अनुमानअनुसार २५० सदस्यीय संसदमा विद्यार्थी समर्थित समूहले १३५ देखि १४० सिट जित्ने देखिएको छ। भुचिकको पार्टीले भने करिब १०५ सिट पाउने अनुमान गरिएको छ। हार स्वीकार गर्दै भुचिकले ‘स्टुडेन्ट्स लिस्टले चुनाव जितेको छ’ भनेका छन्। यद्यपि, उनले हारका लागि स्वतन्त्र सञ्चारमाध्यम र विदेशी हस्तक्षेपलाई पनि दोष दिए।

चुनावको नतिजा सार्वजनिक भएपछि राजधानी बेलग्रेडसहित विभिन्न सहरमा विद्यार्थी र उनीहरूका समर्थकले उत्सव मनाएका छन्। सवारीसाधनको हर्न बजाउँदै र नाराबाजी गर्दै उनीहरूले चुनावी जितको खुसी साटेका हुन्। मतदानमा करिब ७० प्रतिशत मतदाता सहभागी भएको अनुमान छ, जुन सन् २००० यताकै उच्च सहभागितामध्ये एक हो।

विद्यार्थी आन्दोलन सन् २०२४ मा नोभी साद सहरको रेल्वे स्टेसनको छत भत्किँदा १६ जनाको मृत्यु भएपछि चर्किएको थियो। उक्त घटनामा भ्रष्टाचार, नातावाद र निर्माणसम्बन्धी अनियमितता जिम्मेवार रहेको आरोप लगाउँदै विद्यार्थीले सरकारविरुद्ध प्रदर्शन थालेका थिए। उनीहरूले लोकतन्त्रको संरक्षण, भ्रष्टाचार नियन्त्रण र सरकारी निकायमा जवाफदेहिता कायम गर्नुपर्ने माग गर्दै आएका थिए।

भुचिकले विगतमा विपक्षी दललाई पराजित गर्दै सत्तामा आफ्नो पकड कायम राखेका थिए। तर, विद्यार्थी आन्दोलनले देशभर समर्थन जुटाउँदै चुनावी प्रतिस्पर्धामा बलियो उपस्थिति देखायो। आन्दोलनले परम्परागत राजनीतिक दलप्रति निराश मतदातालाई समेत आकर्षित गरेको विश्लेषण गरिएको छ।

युरोपेली संघले पनि चुनावलाई नजिकबाट नियालेको थियो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले विद्यार्थी आन्दोलनलाई बधाई दिँदै कानुनी शासन, सञ्चारमाध्यमको स्वतन्त्रता र भ्रष्टाचार नियन्त्रणमा सुधारका लागि सहकार्य गर्न तयार रहेको बताएकी छन्।

प्रकाशित: ९ कार्तिक २०८३ ०७:१८ सोमबार