अन्तर्राष्ट्रिय

नोरिस्टर आँधीले अमेरिकामा बाढी : एक लाख बढी ग्राहक विद्युतविहीन

तस्बिर : एपी

अमेरिकाको उत्तरपूर्वी तटीय क्षेत्रमा शक्तिशाली नोरिस्टर आँधीका कारण लगातार दोस्रो दिन बाढी र विद्युत् अवरोध भएको छ। 

न्यु जर्सीका तल्लो क्षेत्र डुबानमा परेका छन् भने न्यु योर्कको लङ आइल्याण्डमा तीव्र हावाले रूख ढाल्दा घर र विद्युत् पोलमा क्षति पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

न्यु जर्सीको सी ब्राइटमा प्रत्येक उच्च ज्वारभाटासँगै बाढी बढेको छ। स्थानीय बासिन्दा क्यारोलिन भिरेनियसको ग्यारेजमा करिब ३० सेन्टिमिटर पानी पसेको थियो। उनले भनिन्, ‘यो एक पटकको घटना होइन, पटक-पटक पानी पसिरहेको छ।’

शुक्रबार (स्थानीय समय) देखि न्यु जर्सीका केही स्थानमा १० सेन्टिमिटरभन्दा बढी वर्षा भएको छ। समुद्रको पानी बढेसँगै केही क्षेत्रमा करिब एक दशकयताकै ठुलो बाढी आएको स्थानीय बासिन्दाले बताएका छन्। शनिबार रूख ढल्दा न्यु योर्क सिटी हाउजिङ अथोरिटीका एक कर्मचारीको मृत्यु भएको थियो।

आइतबार रातिसम्म आँधी कमजोर हुने अनुमान गरिएको भए पनि सोमबार रातिको उच्च ज्वारभाटाले न्यु जर्सी र न्यु योर्कमा थप बाढी ल्याउन सक्ने चेतावनी दिइएको छ। नासाउ काउन्टीका कार्यकारी ब्रुस ब्लेकम्यानले आँधीको अर्को कमजोर भाग आइतबार दिउँसो र साँझ आउन सक्ने बताएका छन्।

पावरआउटेज डट यूएसका अनुसार आइतबार उत्तरपूर्वी र मध्य एट्लान्टिक क्षेत्रमा एक लाखभन्दा बढी ग्राहक विद्युतविहीन भएका थिए। न्यु जर्सीदेखि कनेक्टिकटसम्मका तटीय क्षेत्रमा विद्युत् अवरोध बढी देखिएको थियो। बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा पनि २५० भन्दा बढी उडान रद्द भएका थिए।

न्यु जर्सीको नर्थ बिच हेभनकी व्यवसायी क्यारोल एन पाल्मरले पछिल्लो १० वर्षमा देखेको यो सबैभन्दा ठुलो बाढी भएको बताइन्। उनका अनुसार सडकमा पानी भरिएपछि छिमेकीहरू शनिबार कायाक चलाएर आवतजावत गरेका थिए।

आँधीका कारण आएको बाढीले सन् २०१२ को सुपरस्टोर्म स्यान्डीको सम्झना गराएको छ। स्यान्डीले सन् २०१२ मा अमेरिकाको पूर्वी क्षेत्रमा ६० अर्ब डलरभन्दा बढीको क्षति पुर्‍याएको थियो। अहिलेको नोरिस्टरको प्रभाव भने स्यान्डीको तुलनामा निकै कम रहेको छ।

स्यान्डीपछि न्यु जर्सीका प्रभावित क्षेत्रमा घरको उचाइ बढाउनुपर्ने नयाँ नियम लागू गरिएका थिए। सी ब्राइटका स्थानीय बर्नार्ड डाउडले ती नियमका कारण यस पटक आफ्नो समुदायमा क्षति कम भएको बताए। एजेन्सी 

प्रकाशित: १२ आश्विन २०८३ ०९:४८ सोमबार