अन्तर्राष्ट्रिय

नौ लाख किसानलाई बजारसँग जोड्न श्रीलङ्कामा कृषि कार्यक्रम

श्रीलङ्काले कृषि क्षेत्रको आधुनिकीकरण र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाउने उद्देश्यले शुक्रबार ६६ करोड ५० लाख अमेरिकी डलरको कृषि विकास कार्यक्रम सुरु गरेको छ। 

विश्व बैंक समूह र अन्तरराष्ट्रिय कृषि विकास कोष (आईएफएडी) को आर्थिक सहयोगमा सञ्चालन हुने ‘श्रीलङ्का एग्रीकनेक्ट’ कार्यक्रमले सन् २०३० सम्ममा नौ लाख किसानलाई कृषि उत्पादन तथा बजारको मूल्य शृङ्खलासँग जोड्ने लक्ष्य राखेको छ। 

कार्यक्रमअन्तर्गत विश्व बैंक समूहले ५५ करोड अमेरिकी डलर र आईएफएडीले ११ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउनेछन्। यसका अतिरिक्त आगामी पाँच वर्षमा निजी क्षेत्रबाट थप १७ करोड अमेरिकी डलरसम्म लगानी भित्र्याउने लक्ष्य राखिएको छ। 

अधिकारीहरूका अनुसार कार्यक्रमले डिजिटल प्रविधिको प्रयोग र अन्य आधुनिकीकरणका उपायमार्फत कृषि तथा खाद्य क्षेत्रलाई जलवायु परिवर्तनका असर थेग्न सक्ने र बजारमुखी उद्योगका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। 

कार्यक्रम शुभारम्भका अवसरमा सार्वजनिक विवरणअनुसार श्रीलङ्काको कुल गार्हस्थ उत्पादनमा कृषि तथा खाद्य क्षेत्रको योगदान करिब १५ प्रतिशत छ। त्यस्तै, वस्तु निर्यातमा यस क्षेत्रको हिस्सा ३० प्रतिशत र कुल रोजगारीमा करिब एक तिहाइ रहेको छ।  

प्रकाशित: १४ कार्तिक २०८३ १७:०९ शनिबार