स्पेनको टोलेडो प्रान्तमा दुई उच्च गतिका रेलहरू ठोक्किँदा मृत्यु हुनेको संख्या ६४ पुगेको छ।
दुर्घटनामा कम्तिमा ६४ जनाको मृत्यु भएको कास्टिला–ला मान्चाको क्षेत्रीय सरकारले जनाएको छ।
दुर्घटनाको समयमा एक आपसमा ठोक्किएका रेन्फे रेल र इरियो रेलको गति २०० देखि २१० किलोमिटर प्रतिघण्टा भएको अनुमान गरिएको छ। स्थानीय समय अनुसार बिहान ९ बजे यो घटना भएको थियो।
अधिकारीहरूले निजी सञ्चालक इरियोद्वारा सञ्चालित रेलमा १४७ यात्रु र रेन्फे रेलमा ३९७ जना सवार रहेको बताएका छन्।
दुर्घटनापछि राजधानी म्याड्रिडलाई स्पेनको दक्षिणी एन्डालुसिया क्षेत्रसँग जोड्ने रेलवे लाइन बन्द गरिएको थियो।
उच्च गतिको रेल सञ्जालमा स्पेन अग्रणी
स्पेन उच्च गतिको रेल सेवामा विश्वका अग्रणी देशमध्ये एक हो। देशले पछिल्ला दशकमा यस क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ।
स्पेनी रेलवे युनियनका अनुसार उच्च गतिको रेल भन्नाले प्रतिघण्टा २५० किलोमिटर वा सोभन्दा बढी गतिमा चल्ने रेलका लागि निर्माण गरिएको ट्र्याकमा सञ्चालन हुने रेललाई बुझिन्छ।
करिब चार करोड ९० लाख जनसङ्ख्या भएको स्पेनमा तीन दशकभन्दा बढी समय लगाएर करिब तीन हजार ९०० किलोमिटर उच्च गतिको रेलमार्ग निर्माण गरिएको छ।
इन्टरनेसनल युनियन अफ रेलवेजका अनुसार, एक अर्ब ४० करोड जनसङ्ख्या भएको चीनमा करिब ४५ हजार किलोमिटर उच्च गतिको रेलमार्ग छ। चीनपछि स्पेनसँग विश्वकै सबैभन्दा विस्तृत उच्च गतिको रेल सञ्जालमध्ये एक रहेको छ।
स्पेनले पछिल्लो समय आफ्नो रेल सञ्जाल निजी कम्पनीका लागि पनि खुला गरेको छ। यससँगै निजी कम्पनीहरूले सरकारी रेल सेवा प्रदायक रेनफेसँग प्रतिस्पर्धा गर्न थालेका छन्।
इरियोले सन् २०२२ मा स्पेनमा रेल सेवा सञ्चालन सुरु गरेको थियो ।रोयटर्स
प्रकाशित: ११ कार्तिक २०८३ १९:०६ बुधबार