अन्तर्राष्ट्रिय

स्वदेशमा जागिर नपाएपछि दक्षिण कोरियाली युवा जापानतिर आकर्षित हुँदै

एआई तस्बिर

दक्षिण कोरियामा प्रवेश-स्तर (इन्ट्री-लेभल) का राम्रा जागिर पाउन युवाहरूलाई ठूलो संघर्ष गर्नुपरेको अवस्था छ। यसकारण धेरै युवा छिमेकी देश जापानतिर रोजगारी खोज्न थालेका छन्।

सामसुङजस्ता ठूला कम्पनीहरूले नयाँ र अनुभवहीन कामदारभन्दा अनुभवी कर्मचारीलाई प्राथमिकता दिने गरेका छन्। धेरै ज्येष्ठ व्यक्तिहरू पनि लामो समयसम्म आफ्नै जागिरमा बसिरहेका छन्। यसले गर्दा कोरियाली युवाहरूले रोजगारीको गम्भीर अभाव झेलिरहेका छन्।

जापानमा अवस्था फरक छ। त्यहाँ वृद्ध जनसंख्या तीव्र रूपमा बढिरहेको छ। जापानी कम्पनीहरूले नयाँ स्नातक (फ्रेस ग्राजुएट्स) हरूका लागि संरचित तालिमसहितका ठूला योजनामा पदहरू भर्न संघर्ष गरिरहेका छन्। जुन महिनाको तथ्यांकअनुसार दक्षिण कोरियाको युवा बेरोजगारी दर ७ प्रतिशत रहेको थियो भने जापानको समग्र बेरोजगारी दर मात्र २.५ प्रतिशत थियो।

जापानमा कामको भिसामा जाने अधिकांश विदेशीहरू ब्लु-कलर (शारीरिक श्रम र ज्यालादारी वा फ्याक्ट्रीसम्बन्धी) जागिरमा सीमित हुने गर्छन्। तर कोरिया श्रम संस्थानका अनुसार हाल जापानमा कार्यरत ८० हजारभन्दा बढी कोरियाली नागरिकहरू खुद्रा व्यापार, सूचना प्रविधि (आईटी) र खेल विकासजस्ता व्यावसायिक क्षेत्रमा काम गरिरहेका छन्।

कोरियाको मानव संसाधन विकास सेवाको रेकर्डअनुसार सरकार समर्थित कार्यक्रममार्फत जापानमा रोजगारी लिने कोरियाली युवाको संख्या ठूलो मात्रामा बढेको छ। गत वर्ष दुई हजार २५७ जना युवा जापान गएका थिए, जुन अघिल्लो वर्षभन्दा ४७ प्रतिशत बढी हो। यसले जापानलाई उनीहरूको विदेशमा काम गर्ने शीर्ष गन्तव्य बनाएको छ। अमेरिका जानेको संख्या भने २९ प्रतिशतले घटेको छ।

जापानी उद्यमी मो कासुगाईले सन् २०१९ मा ‘कोरेक’ नामक स्टार्टअप सुरु गरेकी थिइन्। उनले कोरियाली जागिर खोज्नेहरूलाई जापानी रोजगारदातासँग जोड्छिन्।

उनी भन्छिन्, ‘म छक्क परें कि उनीहरूले कोरियामा जागिर पाउन सकेनन् किनभने उनीहरू अत्यधिक चलाख र प्रतिभाशाली थिए। धेरैजसो युवा राम्रोसँग जापानी भाषा बोल्न सक्ने भएकाले मैले उनीहरूका लागि जापान जानु उत्तम हुन्छ भनेर सोचेँ।’

कलेजकी विद्यार्थी किम सि-ह्योनले बताइन्, ‘जापानमा जागिर खोजिरहेका धेरैजसो मानिसलाई पहिलेदेखि नै त्यहाँ बस्ने रुचि थियो।’ किमजस्तै धेरै युवा जापानी कम्पनीमा जागिरसँगै पाइने तालिम र अवसरप्रति आकर्षित हुन्छन्। कोरियाली फर्म (कम्पनी) हरूले सामान्यतया नयाँ स्नातकहरूलाई यस्तो तालिम दिँदैनन्।

हाङ्कुक विश्वविद्यालयका प्राध्यापक ली चाङ-मिनका अनुसार भाषा र संस्कृतिको मामिलामा कोरियाली उम्मेदवारहरूको गुणस्तर उच्च हुने भएकाले उनीहरू जापानी कम्पनीहरूका लागि विशेष रूपमा आकर्षक बनेका छन्।

अहिले औसत तलब दक्षिण कोरियामा जापानभन्दा थोरै बढी छ। तैपनि युवाहरू तालिमको अवसर देखेर जापान जान इच्छुक छन्। यस वर्ष सियोलमा कम्तीमा तीन वटा जापान-केन्द्रित जागिर मेला आयोजना भए। क्यानन इमेजिङ सिस्टम र अजबिलजस्ता कम्पनीहरू सहभागी भए। टेक्नोलोजी क्षेत्रमा काम गर्ने वान्टेड ल्याब र जापानको लाप्रासले पनि यस्तै सेवा सुरु गरेका छन्।

दुई देशबिच ऐतिहासिक रूपमा राजनीतिक तथा औपनिवेशिक शासनकालका कारण कटु सम्बन्ध रहँदै आए पनि पछिल्लो समय युवा पुस्तामा सम्बन्ध गहिरिँदै गएको छ।

सन् २०२५ मा कोरियाली पुरुष र जापानी महिलाबिचको विवाह २६ प्रतिशत बढ्यो भने जापानी पुरुषसँग विवाह गर्ने कोरियाली महिलाको संख्या २९ प्रतिशत बढ्यो। रेकर्ड संख्यामा दक्षिण कोरियालीहरू जापान भ्रमणमा गएका छन् र उनीहरू हाल जापानको सबैभन्दा ठूलो आगमन पर्यटक समूह बनेका छन्।

तर विदेशी प्रतिभालाई काममा लगाउनु जापानी कम्पनीहरूका लागि पूर्ण रूपमा सहज छैन। धेरै कोरियाली युवा करियरको द्रुत उन्नति र राम्रो तलबको आशामा छिटो-छिटो जागिर परिवर्तन गर्न रुचाउँछन्।

जीवनभर एउटै संस्थामा काम गर्ने जापानी कार्यसंस्कृतिमा हुर्किएका फर्महरूका लागि यो चुनौती बनेको छ। यद्यपि दुई देशका युवाबिचको यो सहकार्यले सीमापार समझदारी निर्माण गर्न र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुर्‍याइरहेको छ। एजेन्सी

प्रकाशित: २० श्रावण २०८३ २१:५० बुधबार