अन्तर्राष्ट्रिय

जापानी उपनिवेशबाट मुक्ति भएको दिन दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग युद्ध अन्त्यको प्रस्ताव

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले दुई कोरियाबिचको लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न र उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न व्यावहारिक छलफलको प्रस्ताव राखेका छन्।

जापानको औपनिवेशिक शासनबाट कोरिया मुक्त भएको ८१ औं वार्षिकोत्सवको अवसरमा शनिबार सियोलको सेजोङ सेन्टरमा आयोजित राष्ट्रिय मुक्ति दिवस समारोहमा उनले यस्तो प्रस्ताव राखेका हुन्। समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले भने, ‘हामी एकअर्कालाई धम्की दिने आफ्नो मनसायलाई तल राखौं र प्रत्यक्ष रूपमा संलग्न पक्षहरूको रूपमा लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न छलफल सुरु गरौं।’ उनले यस प्रक्रियामा उत्तरको आणविक क्षमताको विकास रोक्न प्रभावकारी तरिकाहरू पनि छलफल गर्न सकिने बताए।

सन् १९५० देखि १९५३ सम्मको कोरियाली युद्ध शान्ति सन्धिमा नभई युद्धविराममा समाप्त भएको हुनाले विभाजित कोरियालीहरू प्राविधिक रूपमा अझै युद्धमै छन्। राष्ट्रपति लीले यो अस्थिर युद्धविराम प्रणालीलाई शान्ति शासनले प्रतिस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

गत वर्ष जुनमा पदभार ग्रहण गरेदेखि सियोलले मेलमिलापका अनेकौं प्रयास गरे पनि उत्तर कोरियाबाट खासै सकारात्मक जवाफ आएको छैन। यद्यपि, प्योङयाङको अनुत्तरदायी व्यवहारका बाबजुद पनि आफ्नो प्रशासनले शान्तिपूर्ण सहअस्तित्वका लागि निरन्तर वार्ताको प्रयास जारी राख्ने उनको भनाइ छ।

सम्बोधनका क्रममा राष्ट्रपति लीले दुई कोरियाले एकअर्काको सम्मान गर्दै अनावश्यक टकराव रोक्नुपर्नेमा जोड दिए। उनले तनाव नियन्त्रण र संकट टार्न बहुस्तरीय सुरक्षा प्रणालीको आवश्यकता औंल्याउँदै उत्तरबाट सकारात्मक प्रतिक्रिया आएमा स्थिर कोरियाली प्रायद्वीप निर्माण गर्ने बताए।

साथै, जापानसँगको सम्बन्धबारे बोल्दै उनले विगत एक वर्षमा दुई देशबिच भएको सक्रिय कूटनीतिले विश्वास बढाएको र आगामी दिनमा आपूर्ति शृङ्खला, ऊर्जा तथा उन्नत प्रविधिमा सहयोग अझै विस्तार हुने विश्वास व्यक्त गरे। लगभग तीन हजार जनाको सहभागिता रहेको सो कार्यक्रममा स्वतन्त्रता सेनानीका परिवार, सरकारका अधिकारी तथा नागरिकहरूको उपस्थिति थियो।

यसैबिच, उत्तर कोरियाली नेता किम जोङ उनले पनि मुक्ति दिवसको अवसरमा विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन्। उनले सन् १९४५ मा कोरियाली प्रायद्वीपको मुक्तिमा लड्ने सोभियत सैनिकहरूको सम्मानमा लिबरेशन टावरको भ्रमण गरी पुष्पगुच्छा अर्पण गरे।

उत्तर कोरियाली मिडियाका अनुसार यस वर्ष किमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवबाट बधाई सन्देशसमेत प्राप्त गरेका छन्। पुटिनले रुस र उत्तर कोरियाबिचको ऐतिहासिक सम्बन्ध र आपसी सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन्। एजेन्सी

प्रकाशित: ३० श्रावण २०८३ १६:५५ शनिबार