अन्तर्राष्ट्रिय

दक्षिण कोरिया : अनुसन्धान नै मेटाउन खोजेपछि युनमाथि नयाँ अभियोग

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक-योललाई समुद्री जवान चाए सु-ग्युनको मृत्युको अनुसन्धान प्रतिवेदन हेरफेर गर्न खोजेको आरोपमा शुक्रबार नयाँ अभियोग दर्ता भएको छ। 

विशेष वकिलका अनुसार सन् २०२३ मा आएको बाढीमा खोजी-उद्धारका क्रममा मृत्यु भएका मरीन जवान चाएको मृत्युमा सात जना उच्च अधिकारी जिम्मेवार देखिएपछि युनले रिसले आगो भएका थिए। उनले आफ्नो निकट मानिने एक डिभिजन कमान्डरको नाम हटाउन राष्ट्रपति कार्यालय र रक्षा मन्त्रालयमार्फत मरीन कर्प्समाथि दबाब दिएका थिए।

जब मरीन अनुसन्धान टोलीका प्रमुख पार्क जङ्ग-हुनले दबाब अस्वीकार गरेर प्रतिवेदन सोझै प्रहरीलाई पठाए, युनले उक्त फाइल फिर्ता ल्याउन आदेश दिए र पार्कलाई बर्खास्त गरी अवज्ञाको मुद्दा चलाउन निर्देशन दिएका थिए।

सहायक विशेष सल्लाहकार चौङ मिन-यङका अनुसार युन र उनका सहयोगीले ‘व्यवस्थित रूपमा’ शक्ति दुरुपयोग गरेर मरीन कर्प्सको अनुसन्धानको निष्पक्षता र स्वतन्त्रता खोस्ने प्रयास गरे।

जेलमा रहेका युनले यो नयाँ अभियोगमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। यसअघि पनि उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन्।

विद्रोहको मुख्य मुद्दामा आगामी वर्ष सुरुमा फैसला आउने अनुमान छ। दोषी ठहरिए मृत्युदण्ड वा आजीवन कारावाससम्मको सजाय हुन सक्छ। यसै महिना उनलाई उत्तर कोरियामाथि ड्रोन उडाएर जानाजानी तनाव बढाएको आरोपमा पनि अभियोग लागिसकेको छ। एजेन्सी

प्रकाशित: ५ मंसिर २०८२ १४:३४ शुक्रबार