अन्तर्राष्ट्रिय

छोराको जन्मदिनको उपहारले लियो श्रीमती र सासूको ज्यान

भारत, दिल्लीको रोहिणी क्षेत्रबाट एउटा हृदय विदारक घटना बाहिर आएको छ। त्यहाँ एक युवकले सामान्य विवादपछि आफ्नी श्रीमती र सासूको निर्मम हत्या गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। हत्याको कारण यस्तो थियो कि सुनेर प्रहरी पनि छक्क पर्‍यो। 

कारणबारे भनिएको छ, ‘आरोपीलाई आफ्नी सासूले आफ्नो छोराको जन्मदिनमा दिएको उपहार मन परेको थिएन, त्यसपछि घटना यति बढ्यो कि उनले रिसाएर दुवैको हत्या गरे।’ स्थानीय समय अनुसार शनिबार दिउँसो ३:५० बजे केएन काटजू मार्ग प्रहरी चौकीलाई रोहिणी सेक्टर–१७ को एक फ्ल्याटमा दुई महिलाको हत्या भएको जानकारी प्राप्त भयो। प्रहरी घटनास्थलमा पुग्दा फ्ल्याटको एउटा कोठामा दुई महिलाको शव रगतले लतपतिएको अवस्थामा फेला पारिएको थियो। मृतकको पहिचान ६३ वर्षीया कुसुम सिन्हा र ३४ वर्षीया प्रिया सहगलको रूपमा भएको छ, जो आमा र छोरी थिए। 

प्रहरी अनुसन्धानमा मृतक प्रियाको छोराको जन्मदिन २८ अगस्टमा रहेको पत्ता लाग्यो। त्यस अवसरमा कुसुम आफ्नी छोरीको घर पुगेकी थिइन्। त्यहाँ श्रीमान्–श्रीमतीबिच उपहारलाई लिएर झगडा भयो। सासूले बच्चालाई महँगो उपहार नदिएकोमा आरोपी योगेश सहगल रिसाएको बताइएको छ। झगडा यति बढ्यो कि अर्को दुई दिन घरमा तनाव भयो। 

शनिबार योगेशले अचानक आक्रमण गरे। प्रहरीका अनुसार हत्याको समयमा दुवै बच्चा स्कुलमा थिए। बच्चा फर्किएपछि आरोपीले उनीहरूलाई घरभित्र पस्न दिएनन्। उनीहरूलाई आफूले आमा र हजुरआमाको हत्या गरेको बताए। त्यसपछि उनी बच्चासँगै घुम्न थाले। पछि जानकारी पाएपछि प्रहरीले केही घण्टामै आरोपीलाई पक्राउ गर्‍यो।  

प्रहरीले घटनास्थलबाट रगतले लतपतिएको कैँची, लुगा र अन्य प्रमाण फेला पारेको छ। सोधपुछको क्रममा आरोपीले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ। योगेश पहिले गहना पसलमा काम गर्थे। तर बेरोजगार भएपछि घरमा बारम्बार झगडा हुन्थ्यो। 

घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेका कुसुम सिन्हाका छोरा मेघ सिन्हा ढोका फोडेर भित्र पसेका थिए। त्यहाँ उनले आफ्नी आमा र बहिनीलाई मृत अवस्थामा फेला पारे। उनले सम्पूर्ण घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले तुरुन्तै आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो। 

प्रकाशित: १६ भाद्र २०८२ १०:१३ सोमबार