केन्याको पश्चिमी क्षेत्रमा पर्ने नाकुरू–एल्डोरेट राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा मिनीबसका चालकसहित छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा एउटा ट्रक, ‘नर्थ रिफ्ट साको’ द्वारा सञ्चालित मिनीबस र एउटा कार सङ्लग्न थिए। प्रारम्भिक अनुसन्धानअनुसार एल्डोरेटतर्फ गइरहेको ट्रकले अगाडिको सवारीसाधनलाई उछिन्ने क्रममा विपरीत लेनमा प्रवेश गरेपछि दुर्घटना भएको हो।
त्यसक्रममा ट्रकले पहिले एउटा कारलाई ठक्कर दिएको थियो। त्यसपछि १० जना यात्रु सवार मिनीबससँग पनि ट्रक ठोक्किएको थियो।
दुर्घटनामा मिनीबसमा सवार पाँच महिला र चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका केही व्यक्तिलाई उपचारका लागि वासिन गिशु काउन्टीका विभिन्न अस्पतालमा लगिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।
केन्यामा सडक दुर्घटनाबाट हुने मृत्युको उच्च दरका लागि लापरबाहीपूर्ण सवारी चलाउने, जोखिमपूर्ण रूपमा ओभरटेक गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा मोटरसाइकल चालकले हेल्मेट नलगाउनेजस्ता कारणलाई अधिकारीहरूले जिम्मेवार ठह¥याएका छन्।
राष्ट्रिय यातायात तथा सुरक्षा प्राधिकरणका अनुसार सरकारले निजी क्षेत्रका सरोकारवालासँग मिलेर सडक सुरक्षा सुधारका विभिन्न पहल गर्दै आए पनि केन्यामा हरेक वर्ष करिब चार हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन्।
प्रकाशित: १४ कार्तिक २०८३ १५:३६ शनिबार