अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको पुरानो तस्बिर सेयर गर्दै उनीहरूको सम्बन्धबारे चर्चा गरेका छन्।
शनिबार ट्रुथ सोसलमा तस्बिर राख्दै ट्रम्पले तस्बिरमा देखिएको गम्भीर मुद्राका बाबजुद आफूहरूबिच राम्रो सम्बन्ध रहेको बताएका हुन्। उनले लेखेका छन्, ‘यस विशेष तस्बिरमा रिसाए जस्तो देखिने रूपको बावजुद, धेरै ठाउँमा हामी मुस्कुराइरहेका छौं, किम जोङ उन र म राम्रोसँग मिल्छौं!’
ट्रम्पको यो टिप्पणी यस्तो समयमा आएको छ, जब उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबिच हुन लागेको संयुक्त सैन्य अभ्यासको चर्को आलोचना गरिरहेको छ। उत्तर कोरियाले यस अभ्यासले कोरियाली प्रायद्वीपमा तनाव बढाउने दाबी गरेको छ।
‘उल्ची फ्रिडम शिल्ड’ नाम दिइएको उक्त सैन्य अभ्यास अगस्ट १७ देखि २७ सम्म सञ्चालन हुने तालिका छ। यस अभ्यासमा ड्रोन, जीपीएस अवरोध र साइबर आक्रमणको प्रतिवाद गर्ने प्रशिक्षण समावेश छ। अमेरिका र उसका सहयोगी राष्ट्रहरूले उत्तर कोरियाको बढ्दो सैन्य क्षमतालाई ध्यानमा राख्दै यस्तो तयारी गरेका हुन्। उत्तर कोरियाले भने यस्ता अभ्यासलाई सधैं उत्तेजक कार्यको रूपमा व्याख्या गर्ने गरेको छ।
यसैबिच, उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका, जापान र दक्षिण कोरियाबिचको सैन्य सहकार्य ‘आणविक गठबन्धन’ मा परिणत भइरहेको आरोप लगाएका छन्। प्योङयाङको आधिकारिक समाचार एजेन्सी केसीएनएले प्रवक्तालाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिका-जापान-दक्षिण कोरिया सैन्य सहयोग आणविक गठबन्धनमा परिणत हुँदैछ, र उत्तर कोरियाले नयाँ स्तरको खतरालाई नयाँ स्तरको प्रतिरोधकताका साथ जवाफ दिनेछ।’ उनले थपे, ‘सुरक्षा सुनिश्चित गर्ने हाम्रो स्थिर सिद्धान्त भनेको नयाँ स्तरको खतरालाई नयाँ स्तरको प्रतिरोधकताका साथ प्रतिक्रिया दिनु हो।’
यसअघि अगस्ट १२ मा उत्तर कोरियाले एक हप्ताभन्दा कम समयमै दोस्रो पटक ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। दक्षिण कोरियाली सेनाका अनुसार प्योङयाङले पूर्वी समुद्रतर्फ सो क्षेप्यास्त्र प्रहार गरेको हो। यद्यपि, अमेरिकी प्रशान्त कमाण्डले भने यसलाई केवल ‘क्षेप्यास्त्र प्रक्षेपण’ भनी संक्षिप्त टिप्पणी गरेको थियो। एजेन्सी
प्रकाशित: ३१ श्रावण २०८३ १९:०४ आइतबार



