अन्तर्राष्ट्रिय

सर्बियाका राष्ट्रपति भुचिकको राजीनामा : प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिकले आगामी प्रारम्भिक संसदीय चुनावमा प्रधानमन्त्री बन्ने तयारी गर्दै आइतबार राष्ट्रपतिको पदबाट राजीनामा दिएका छन्।

उनले अक्टोबर २५ मा हुने चुनावमा आफ्नो सर्बियाली प्रोग्रेसिभ पार्टीको नेतृत्व गर्ने बताएका छन्। भुचिकको दोस्रो कार्यकाल अर्को वर्ष मेमा सकिँदै थियो। सर्बियाको संविधानले उनलाई तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न रोक लगाएको छ। त्यसैले उनले प्रधानमन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

भुचिकको राजीनामापछि पूर्वप्रधानमन्त्री तथा संसदकी सभामुख आना ब्रनाबिकले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछिन्। भुचिकका अनुसार ९० दिनभित्र प्रारम्भिक राष्ट्रपति निर्वाचनको पहिलो चरण गरिसक्नुपर्नेछ।

सर्बियामा करिब दुई वर्षदेखि सरकारविरुद्ध विद्यार्थी नेतृत्वको आन्दोलन हुँदै आएको छ। २०२४ नोभेम्बरमा नोभी सादमा भएको रेल स्टेसनको छाना भत्किएपछि सुरु भएको विरोध विस्तार हुँदै न्याय, भ्रष्टाचार नियन्त्रण र जवाफदेहिताको मागमा केन्द्रित भएको थियो।

भुचिक पछिल्ला १२ वर्षदेखि कहिले प्रधानमन्त्री र कहिले राष्ट्रपति रहँदै आएका छन्। उनको पार्टीमाथि भ्रष्टाचार, राज्य संस्थामाथि नियन्त्रण र लोकतान्त्रिक स्वतन्त्रतामाथि दबाब दिएको आरोप लाग्दै आएको छ। भुचिक र उनको पार्टीले भने पदको दुरुपयोग गरेको आरोप अस्वीकार गर्दै आएका छन्।

विद्यार्थी समर्थित चुनावी सूचीमा विज्ञ, प्राध्यापक, शिक्षक, खेलाडी लगायत विभिन्न क्षेत्रका व्यक्ति सहभागी छन्। विद्यार्थी समूहले कानुनको शासन र भ्रष्टाचार अन्त्यको माग गर्दै देशभर अभियान चलाइरहेको छ।

भुचिकले राजीनामा घोषणा गर्दै भने, ‘म राष्ट्रपतिको पदबाट राजीनामा दिँदै छु।’ उनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, ‘तर म भविष्यलाई खुशीका साथ हेर्छु, नयाँ विजयहरू हाम्रो पर्खाइमा छन्।’

सर्बियाको प्रधानमन्त्री पद राष्ट्रपतिभन्दा औपचारिक रूपमा शक्तिशाली मानिन्छ। तर भुचिकले राष्ट्रपतिका रूपमा पनि सरकारका महत्वपूर्ण निर्णय र योजनामा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका थिए।

सर्बियाको युरोपेली संघमा सामेल हुने प्रयास पनि भुचिकको नेतृत्वमा अघि बढ्न सकेन। यसमा लोकतान्त्रिक स्वतन्त्रतासम्बन्धी चिन्ता र युक्रेन युद्धका कारण रूसमाथि लगाइएको प्रतिबन्धमा सर्बिया सहभागी नहुनु प्रमुख विषय हुन्। एजेन्सी

प्रकाशित: १२ आश्विन २०८३ ०६:३९ सोमबार