अन्तर्राष्ट्रिय

रुसी राष्ट्रपति पुटिन भारत आउँदैः विश्वभर तरंग, भारतमा चर्को बहस

अमेरिकासहित पश्चिमा देशसँग तनावपूर्ण सम्बन्ध रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार छिमेकी मुलुक भारतको भ्रमणमा आउँदैछन्। भारतीय समयअनुसार अहिले साँझ ६ः३० बजे पुटिन नयाँ दिल्ली विमानस्थलमा अवतरण हुनेछन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा दुई दिने भारत भ्रमण गर्दैछन्।  

सन् २०२२ देखि सुरुभएको रुस–युक्रेन युद्धपछि पुटिन पहिलो पटक भारतको औपचारिक भ्रमणमा आउन लागेको हुन्। यही कारण सिंगो विश्वले उनको नयाँ दिल्ली भ्रमणमालाई चासोपूर्वक हेरिरहेको छ।  

उसो त रुस र भारत शीतयुद्ध कालदेखिकै घनिष्ठ सम्बन्ध भएका देश हुन्। कुनै समय भारत–पाकिस्तानबिच युद्ध हुँदा अमेरिकाले पाकिस्तानलाई सघाएको चर्चा हुन्छ। त्यो बेला तत्कालीन सोभियत संघ(हालको रुस)ले भारतलाई सघाएको थियो। त्यो बेलादेखि भारत–रुसबिच सुमधुर सम्बन्ध रहँदैआएको छ।  

पछिल्लो समय भारतको सम्बन्ध अमेरिका लगायतका पश्चिमी देशसँग पनि राम्रो थियो। तर रुसले युक्रेनमा हमला गरेपछि भारतले अपनाउने गरेको रणनीतिका कारण पश्चिमी समुदाय भारतसँग चिढिँदै आएको छ।  

यही कारण पुटिनको अहिलेको भारत भ्रमणलाई पश्चिमी देशहरूले निकै नजिकबाट हेरिरहेको टिप्पणी भइरहेका छन्। सोमबार(डिसेम्बर १)मा मात्रै भारतस्थित फ्रान्स, बेलायत र जर्मनीका राजदुतहरूले ‘टाइम्स अफ इन्डिया’मा संयुक्त लेख लेख्दै युक्रेनसँग युद्ध लम्ब्याउनमा रुस जिम्मेवार रहेको भन्दै आलोचना गरेका थिए। सोही पत्रिकामा त्यसको जवाफमा भारतस्थित रुसी राजदुत डेनिस अलिपोवले उक्त लेखलाई ‘भारतीय जनतालाई भ्रममा राख्ने प्रयास’ भन्दै प्रतिवाद गरेको बिबिसी हिन्दीले लेखेको छ।

यता यस्तो ‘लेखबाजी’को भारतमा भने चर्को टिकाटिप्पणी भइरहेको छ। रुसका लागि पूर्व भारतीय राजदुत रहेका पूर्व विदेश सचिव कम्बल सिब्बले पश्चिमी देशका राजदुतको लेखको चर्को आलोचना नै गरेका छन्। उनले ‘मित्रतापूर्ण भ्रमणलाई लिएर विवाद सिर्जना गर्ने कोसिस’ भनेर आलोचना गरेका छन्।  

भारतमै पनि यसबारे पक्ष–विपक्षमा तमाम बहस भइरहँदा विश्वभरका कुटनीति तथा भूराजनीतिका विशेषज्ञहरूले यसबारे विभिन्न कोणबाट बहस गरिरहेका छन्।  

प्रकाशित: १८ मंसिर २०८२ १८:२१ बिहीबार