अन्तर्राष्ट्रिय

रूसले अब चार महिना पेट्रोल नबेच्ने

रूसले अप्रिल १ देखि जुलाई ३१ सम्म पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले ऊर्जा मन्त्रालयलाई प्रस्ताव तयार गर्न निर्देशन दिएका छन्।  

रूसले यो कदम घरेलु आपूर्ति कायम राख्न र मूल्य नियन्त्रण गर्न लक्षित रहेको बताएको छ।रूसले दैनिक एक लाख २० हजारदेखि एक लाख ७० हजार ब्यारेल पेट्रोल निर्यात गर्दै आएको छ।

नोभाकले मध्यपूर्वमा जारी इजरायल–इरान युद्धले विश्वव्यापी तेल र पेट्रोलियम उत्पादन बजारमा अस्थिरता बढाएको र मूल्यमा उतारचढाव आएको बताए।  

यो निर्णयले चीन, टर्की, ब्राजिल, अफ्रिका र सिंगापुरलाई असर गर्न सक्छ। यी देशहरू रूसी तेल उत्पादनका प्रमुख खरीददार हुन्। भारतले पनि रुसबाट कच्चा तेल किन्ने गरेको छ।

पेट्रोल निर्यात प्रतिबन्धको सम्बन्धमा शुक्रबार मस्कोमा एक बैठक भएको थियो। राष्ट्रपति पुटिनले इन्धनको मूल्य नियन्त्रणमा राख्न चाहन्छन् भन्ने कुरामा विशेष जोड दिइएको थियो।

मन्त्री नोभाकले बैठकमा पेट्रोल र डिजेलको पर्याप्त भण्डार रहेको र रिफाइनरीहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेको बताए। तेल कम्पनीहरूले पेट्रोल र डिजेलको पर्याप्त भण्डार रहेको बताउदै उनले क्षमता भन्दा बढि  सञ्चालन गरिरहेको बताए।

रूसले गत वर्ष पनि युक्रेन आक्रमणबाट रिफाइनरीहरू प्रभावित भएपछि मूल्य नियन्त्रण गर्न र घरेलु आपूर्ति सुनिश्चित गर्न पेट्रोल र डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो।

उद्योग तथ्याङ्क अनुसार, रूसले गत वर्ष लगभग ५० लाख मेट्रिक टन पेट्रोल निर्यात गरेको थियो, जुन प्रति दिन लगभग एक लाख १७ हजार ब्यारेल बराबर हुन्छ। एजेन्सी

प्रकाशित: १४ चैत्र २०८२ १४:०५ शनिबार