अन्तर्राष्ट्रिय

रूसले युक्रेनमा मिसाइल र ड्रोन आक्रमण बढायो : मृतक संख्या १८ पुग्यो

युक्रेनमा रूसी सेनाले गरेको ड्रोन र मिसाइल आक्रमणमा परी शनिबार थप दुई जनाको मृत्यु भएको छ।

एक शपिङ सेन्टरमा भएको आक्रमणमा १६ जनाको ज्यान गएको भोलिपल्टै यो घटना भएको हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार राजधानी किभमा रहेको रेलवे पूर्वाधारमा ब्यालिस्टिक मिसाइल प्रहार हुँदा एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएको जानकारी गराएका हुन्।

रूसको रक्षा मन्त्रालयले भने आफ्नो सेनाले लोकोमोटिभ डिपोमा प्रहार गरेको जनाएको छ। अधिकारीहरूका अनुसार जापोरिझ्झिया क्षेत्रको एक गाउँमा रूसी ड्रोन आक्रमणमा परी थप एक जनाको मृत्यु भएको छ। यसैगरी, क्षेत्रीय राजधानीमा एक मिनीबसमा भएको आक्रमणमा तीन जना घाइते भएका छन्।

यसअघि, शुक्रबार मध्य युक्रेनको क्रिभी रिह सहरको एक किनमेल केन्द्र (सपिङ सेन्टर) मा रूसी ड्रोन प्रहार भएको थियो। निप्रोपेट्रोभस्क क्षेत्रीय प्रमुख ओलेक्जान्डर हान्झाले उक्त आक्रमणमा मृत्यु हुनेको संख्या १६ पुगेको र नौ जना अझै बेपत्ता रहेको बताए।

उनका अनुसार सो घटनामा १३० जना घाइते भएका छन्। यो क्षेत्र राष्ट्रपति जेलेन्स्कीको गृहनगर हो। उनले यसलाई 'डबल-ट्याप' आक्रमणको संज्ञा दिएका छन्, जहाँ सुरुमा ड्रोन प्रहार गरिन्छ र उद्धारकर्मी घटनास्थलमा पुगेपछि फेरि अर्को प्रहार गरिन्छ।

हालैका साताहरूमा रूसले किभमा ब्यालिस्टिक मिसाइल आक्रमण बढाएको छ। रूसले युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट एयर डिफेन्स इन्टरसेप्टरको अभाव भएको फाइदा उठाइरहेको छ। संयुक्त राष्ट्र संघका अनुसार जुलाई महिनामा मात्रै किभमा ५४ जना नागरिक मारिएका छन् भने २०२ जना घाइते भएका छन्।

यसको जवाफमा युक्रेनले पनि रूसी भूमिमा लामो दूरीको ड्रोन आक्रमण बढाएको छ। युक्रेनी ड्रोनहरूले समारा क्षेत्रको तेल रिफाइनरीमा आगो लगाइदिएका छन् भने अन्य औद्योगिक केन्द्रहरूमा पनि क्षति पुर्‍याएका छन्।

युक्रेनी वायुसेनाका अनुसार शनिबार बिहानसम्म रूसी सेनाले प्रहार गरेका १८२ ड्रोन, तीन उड्डयन क्षेप्यास्त्र र छ वटा घुमाउरो हतियारलाई युक्रेनी वायु प्रतिरक्षा प्रणालीले रोकेको छ।

आगामी अगस्ट २४ मा पर्न लागेको युक्रेनको ३५ औं स्वतन्त्रता दिवस नजिकिँदै गर्दा रूसी आक्रमण थप आक्रामक बनेको देखिएको छ। युक्रेनको सुरक्षा सेवाले स्वतन्त्रता दिवसका अवसरमा रूसले थप हमला बढाउन सक्ने भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। एजेन्सी

प्रकाशित: ६ भाद्र २०८३ १४:५५ शनिबार