अन्तर्राष्ट्रिय

रुसले एकै दिन हजार युक्रेनी सैनिकका शव फिर्ता गर्‍यो

युक्रेनले बिहीबार रुसबाट युद्धका क्रममा मृत्यु भएका करिब एक हजार युक्रेनी सैनिकको अवशेष प्राप्त गरेको बताएको छ।

किभ र मस्कोबिच युद्धबन्दीहरूको आदान–प्रदान र मृत सैनिकहरूको अवशेष आदानप्रदान गर्ने सहमति अन्तर्गत ती सैनिकका अवशेष प्राप्त भएको किभले जनाएको छ। 

युद्धबन्दीहरूको उपचारका लागि किभको समन्वय मुख्यालयले सामाजिक सञ्जालमा भनेको छ, ‘आज (बिहीबार) मृतक सैनिक र सर्वसाधारण व्यक्तिको अवशेष फिर्ता गर्ने काम भएको छ। रुसी पक्षले युक्रेनी सैनिकको भएको दाबी गरेका एक हजार शवहरू युक्रेनलाई बुझाएको छ।’ 

उक्त निकायका अनुसार अनुसन्धानकर्ता र विज्ञहरूले चाँडै नै सबै आवश्यक परीक्षण गर्नेछन् र स्वदेश फर्काइएका शवहरूको पहिचान गर्नेछन्।

रुसी सरकारी सञ्चारमाध्यमले अज्ञात स्रोतलाई उद्धृत गर्दै मारिएका एक हजार युक्रेनी सैनिकको शवको बदलामा ३० जना रुसी सैनिकको अवशेष हस्तान्तरण गरिएको जनाएको छ। 

सार्वजनिक रूपमा उपलब्ध जानकारीका अनुसार किभले युद्धको अवधिभर मस्कोबाट कुल १५ हजार मृतक सेना र नागरिकका अवशेष फिर्ता पाएको छ। एजेन्सी

प्रकाशित: ५ मंसिर २०८२ ०८:३५ शुक्रबार