मध्य जापानको एक सहरले बासिन्दाहरूलाई स्मार्टफोन र ‘गेम कन्सोल’ को प्रयोग दैनिक दुई घण्टामा सीमित गर्न आग्रह गर्दै आएको छ।
सहरले लागू गरेको यो नियम केही हदसम्म प्रभावकारी देखिएको छ। पछिल्लो सर्वेक्षणअनुसार यस नियमबारे जानकारी भएका करिब ५ प्रतिशत बासिन्दाले आफ्नो स्क्रिन प्रयोगको समय घटाएको पाइएको छ। गत अक्टोबरमा आइची प्रिफेक्चरको टोयोके सहरले यो नियम लागू गरेको थियो। यसको प्रभाव बुझ्न गरिएको सर्वेक्षणमा एक हजार ६७० जना सहभागी भएका थिए। तीमध्ये ५.१ प्रतिशतले आफ्नो डिजिटल उपकरण चलाउने समय घटेको बताएका छन्।
यस विषयमा सहरका मेयर मासाफुमी कौकीले खुसी व्यक्त गरेका छन्। उनले भने, ‘यो नियम मान्नैपर्ने बाध्यकारी नभए पनि केही परिवर्तन देखिएको छ। ५ प्रतिशत मानिसले पनि प्रयोग कम गर्नु सकारात्मक हो। हामीले सचेतना फैलाउने काम जारी राख्नुपर्छ।’
यो नियमअनुसार काम र विद्यालयबाहेकको समयमा स्मार्टफोन वा अन्य डिजिटल उपकरण दैनिक दुई घण्टाभन्दा बढी प्रयोग नगर्न सुझाव दिइएको छ। यो जापानमै यस्तो खालको पहिलो नगरपालिका अध्यादेश हो, जसमा नियम नमान्नेलाई कुनै जरिवानाको व्यवस्था छैन।
पछिल्लो समय अत्याधिक स्क्रिन टाइमले बालबालिकाको निद्रा, स्वास्थ्य र पारिवारिक सम्बन्धमा पारेको असरप्रति विश्वभर चिन्ता बढिरहेको छ। अस्ट्रेलिया र इन्डोनेसिया जस्ता देशहरूले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन् भने बेलायत र डेनमार्कले पनि यस्तै उमेर हद लागू गर्ने योजना बनाएका छन्।
सर्वेक्षणमा सहभागीमध्ये २७.१ प्रतिशतले डिजिटल उपकरण चलाउँदा पहिलेभन्दा बढी सचेत भएको बताए। त्यस्तै, ११.१ प्रतिशतले परिवारका सदस्यहरूसँग यसबारे छलफल गरेको जानकारी दिए। त्यसैगरी, ४.६ प्रतिशतले परिवारमा कुराकानी बढेको र ३.८ प्रतिशतले आफूलाई राम्रो निद्रा लाग्न थालेको बताएका छन्।
मार्च र अप्रिल महिनामा गरिएको यो सर्वेक्षणमा एक हजार ९०७ जनाले प्रतिक्रिया दिएका थिए, जसमध्ये ८७.६ प्रतिशतलाई सहरको यस नियमबारे थाहा थियो। सहरले यसअघि नै विद्यार्थी र अभिभावकहरूका लागि छुट्टै सर्वेक्षणको नतिजा सार्वजनिक गरिसकेको छ। एजेन्सी
प्रकाशित: ३१ श्रावण २०८३ १५:१७ आइतबार