सुडानको अर्धसैनिक बल तीव्र समर्थन बल (आरएसएफ) ले बिहीबार अमेरिका, इजिप्ट, युएई र साउदी अरेबियाको संयुक्त मध्यस्थतामा प्रस्तावित मानवीय युद्धविराममा सहमति जनाएको छ। दुई वर्षभन्दा लामो द्वन्द्वमा सरकारी सेनासँग लडिरहेको यो समूहले डार्फर क्षेत्रमा विशेष पकड कायम गरेको छ।
‘सुडानी जनताको आकांक्षा र हितको प्रतिक्रियामा, आरएसएफले ‘क्वाड’ देशहरूले प्रस्ताव गरेको मानवीय युद्धविराममा प्रवेश गर्ने आफ्नो सहमतिलाई पुष्टि गर्दछ,’ आरएसएफले विज्ञप्तिमा भनेको छ।
सुडानको सेना–गठित सरकारले भने अमेरिकी प्रस्तावमा छलफलपछि युद्ध जारी राख्ने संकेत गरेको छ। गत हप्ता आरएसएफ नेता जनरल मोहम्मद हमदान डागालोले एल–फशेरमा आफ्ना सिपाहीहरूले गरेको ‘उल्लंघन’ को बारेमा अनुसन्धान गर्ने घोषणा गरेका थिए।
अक्टोबर २६ मा आरएसएफले १८ महिनाको घेराबन्दीपछि एल-फासर कब्जा गर्दा सामूहिक हत्या, बलात्कार र अन्य अपराधका घटना भएका छन्, जसलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले युद्ध अपराध र मानवताविरुद्धको अपराध ठहराउने आधार देखेको छ। आइसिसी अभियोजक कार्यालयले यस्ता घटनामा प्रमाण सङ्कलन गरिरहेको जनाएको छ।
युद्धले चरम भोकमरी निम्त्याएको छ। संयुक्त राष्ट्रसंघका अनुसार, एल-फासरबाट ६५ हजारभन्दा बढी विस्थापित भएका छन्, जसमध्ये पाँच हजार ताविलामा छन् र दशौं हजार युद्धग्रस्त क्षेत्रमा फसेका छन्। अघि दुई लाख ६० हजार जनसङ्ख्या रहेको यो सहर सेनाको डार्फरमा अन्तिम किल्ला थियो। एजेन्सी
प्रकाशित: २१ कार्तिक २०८२ ११:४६ शुक्रबार