भारत, राजस्थानको भिलवाडास्थित कारेडा क्षेत्रमा एक अनौठो चोरीको घटना सार्वजनिक भएको छ। चोरीमा संलग्न व्यक्तिले आफ्नो पहिचान लुकाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुहार भएको मुखौटा प्रयोग गरेको देखिएको छ।
घटना आइतबार मध्यराततिर कारेडाको मातेश्वरी मोबाइल पसलमा भएको थियो। चोरहरूले छतको बाटो हुँदै भित्र पसेर चारदेखि पाँच लाख भारतीय रुपैयाँ बराबरका करिब ३० देखि ४० वटा स्मार्टफोन चोरी गरेका थिए। पसल मालिक लक्ष्मण सेनले भोलिपल्ट बिहान पसल खोल्दा सामानहरू यत्रतत्र छरिएको र मोबाइल फोनहरू हराएको देखेपछि घटनाबारे थाहा पाएका हुन्।
पसलमा जडान गरिएको सिसिटिभी फुटेजमा मुखौटाधारी व्यक्ति चोरी गरिरहेको दृश्यमा कैद भएको छ। कारेडा प्रहरी चौकीका अधिकृत पुरणमल मीनाका अनुसार उस्तै मुखौटा लगाएको व्यक्तिले सोही रात नजिकैको साँवरिया मोबाइल पसलमा पनि सटरको ताला तोड्ने प्रयास गरेका थिए। प्रहरीले उक्त प्रयासलाई 'असफल चोरी' को रूपमा लिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले अन्य सिसिटिभी फुटेजहरूको पनि अनुसन्धान गरिरहेको छ। अधिकारीहरूले चोरीको प्रयास गर्दा मुखौटा लगाएका व्यक्तिले सोही दिन दिनको समयमा उस्तै कपडा लगाएर आसपासका क्षेत्रमा घुमिरहेको पाइएको बताएका छन्। प्रहरीले ती व्यक्तिको पहिचान गर्ने प्रयास गरिरहेको जनाएको छ। यद्यपि, मातेश्वरी मोबाइल पसलमा भएको चोरीको घटनामा सोही व्यक्ति संलग्न छन् वा छैनन् भन्ने बारे थप अनुसन्धान भइरहेको छ, किनकि उक्त पसलमा सिसिटिभी फुटेज उपलब्ध छैन।
घटनापछि स्थानीय व्यापारीहरूले सुरक्षा व्यवस्था कडा पार्न र रात्रिकालीन गस्ती बढाउन प्रहरीसँग माग गरेका छन्। प्रहरीले मुद्दा दर्ता गरेर खोजी कार्यलाई तीव्रता दिएको छ।
प्रकाशित: १९ असार २०८३ १०:०३ शुक्रबार