बलिउडको चर्चित जोडी रणवीर कपुर र आलिया भट्ट दीपावलीको अवसरमा आफ्नो नयाँ तथा भव्य घरमा सर्ने भएका छन्।
मुम्बईमा अवस्थित उक्त घरको मूल्य करिब २५० करोड भारु रहेको अनुमान गरिएको छ। जोडीले सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकहरूलाई यसबारे जानकारी दिएका हुन्।
उक्त घर रणवीरकी हजुरआमा कृष्णा राज कपुरको पुरानो बङ्गला हो। उनीहरूले घरलाई आफ्नो आवश्यकताअनुसार पुनर्निर्माण गराएका हुन्।
६ तल्लाको यो भव्य भवनमा अत्याधुनिक सुविधासहितको लिभिङ एरिया, स्विमिङ पुल, र उनीहरूको छोरी राहाका लागि विशेष रूपमा डिजाइन गरिएको कोठा रहेको बताइएको छ।
सामाजिक सञ्जालमा रणवीर र आलियाले नयाँ घरमा सर्न लागेको जानकारी दिँदै लेखेका छन्, ‘दिवाली खुसी र नयाँ सुरुवातको समय हो। हामी हाम्रो नयाँ घरमा सर्दैछौँ, र यस अवसरमा, हामी तपाईंहरू सबैको माया र समर्थनको लागि हार्दिक धन्यवाद दिन्छौं।’
उनीहरूले आफ्नो र आफ्नो परिवारको गोपनीयताको सम्मान गर्नसमेत अनुरोध गरेका छन्।
‘तपाईंले हाम्रो परिवार र हाम्रो नयाँ घरको गोपनीयताको सम्मान गर्नुहुनेछ भन्ने हामी आशा गर्छौं। तपाईं र तपाईंको परिवारलाई धेरै-धेरै माया र शुभकामना। दीपावलीको शुभकामना !’
प्रकाशित: १ कार्तिक २०८२ १८:५६ शनिबार