अमेरिकाको ओहायो राज्यमा गभर्नर पदको चुनावमा रिपब्लिकन पार्टीका नेता विवेक रामास्वामी पराजित भएका छन्।
डेमोक्रेटिक पार्टीकी उम्मेदवार एमी एक्टनले उनलाई हराउँदै गभर्नरमा जित हासिल गरेकी हुन्। यस जितसँगै एक्टन पछिल्लो २० वर्षमा ओहायोको गभर्नर बन्ने पहिलो डेमोक्रेटिक उम्मेदवार बनेकी छन्। उनी राज्यको गभर्नरमा निर्वाचित हुने पहिलो महिला पनि हुन्।
रामास्वामी बायोटेक्नोलोजी व्यवसायी हुन् भने एक्टन यसअघि ओहायोको स्वास्थ्य निर्देशक थिइन्। कोरोना महामारीका बेला उनले स्वास्थ्यसम्बन्धी जिम्मेवारी सम्हालेकी थिइन्।
चुनावी अभियानका क्रममा रामास्वामीका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले मत मागेका थिए। त्यस्तै, एक्टनको पक्षमा पूर्वराष्ट्रपति बाराक ओबामा पनि चुनावी अभियानमा सहभागी भएका थिए।
रामास्वामीको चुनावी अभियानमा एक्टनकी आमालाई देखाएर बनाइएको विज्ञापन विवादमा परेको थियो। उक्त विज्ञापनको आलोचना भएपछि मतदान हुनुभन्दा करिब एक साताअघि हटाइएको थियो।
ओहायो यसअघि रिपब्लिकन पार्टीको बलियो प्रभाव रहेको राज्य मानिन्थ्यो। ट्रम्पले सन् २०१६, २०२० र २०२४ को राष्ट्रपतीय निर्वाचनमा यहाँ जित हासिल गरेका थिए। तर, यसपटक गभर्नर पदमा रिपब्लिकन उम्मेदवार रामास्वामी पराजित भएका छन्।
सिनेटतर्फ पनि डेमोक्र्याट उम्मेदवार शेरड ब्राउन अगाडि छन्। मत गणना अन्तिम चरणमा पुग्दा उनले रिपब्लिकन उम्मेदवार जन ह्युस्टेडमाथि अग्रता कायम राखेका हुन्।
प्रकाशित: १८ कार्तिक २०८३ ०९:५१ बुधबार