अन्तर्राष्ट्रिय

राहुलको खुला चुनौती : मोदी प्रधानमन्त्री नरहने दाबी

फाइल तस्बिर

कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमनेसामने बहसका लागि खुला चुनौती दिएका छन्।

उनले आफू र मोदीबिच प्रत्यक्ष बहस भएमा मोदी प्रधानमन्त्रीको पदमा नरहने दाबीसमेत गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘आस्क मी’ सत्रका क्रममा एक प्रयोगकर्ताको प्रश्नको जवाफ दिँदै राहुलले यस्तो बताएका हुन्। संसदमा बहस गर्न सकिने अवस्था हुँदाहुँदै सार्वजनिक बहसको आवश्यकता किन परेको भन्ने प्रश्नमा उनले आफूलाई सदनमा विभिन्न विषयमा बोल्न नदिइएको आरोप लगाए।

उनले आफ्नो माइक्रोफोनसमेत बन्द गरिएको आरोप लगाउँदै कृषि कानुन, भोट चोरी, चीन, जनरल नरवणेको पुस्तक र एपस्टाइनजस्ता विषयमा बोल्न नपाएको बताए।

‘तपाईंहरूले मलाई यी विषयमा कुरा गर्न दिनुभएन। म आमनेसामने बहस चाहन्छु। म लामो भाषण हुने बहस चाहन्न,’ राहुलले भने।

उनले मोदीसँग एउटै टेबलमा बसेर प्रत्यक्ष बहस गर्न आफू तयार रहेको बताए। मोदीले आफूमाथि आरोप लगाएमा त्यसको जवाफ दिन पनि तयार रहेको उनको भनाइ छ।

राहुलले भारतीय जनता पार्टी (भाजपा) ले चाहेमा अदानी समूहका अध्यक्ष गौतम अदानी वा राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतलाई बहसको निर्णायक बनाए पनि आफूलाई कुनै आपत्ति नहुने बताए।

‘तर म ग्यारेन्टी दिन्छु, मसँग आमनेसामने बहस भएपछि प्रधानमन्त्री (मोदी) पदमा रहनुहुने छैन,’ उनले भने।

राहुलले यसअघि पनि मोदीलाई पटकपटक सार्वजनिक बहसका लागि चुनौती दिँदै आएका छन्। सन् २०१९ र २०२४ को लोकसभा चुनावका क्रममा पनि उनले मोदीसँग प्रत्यक्ष बहस गर्नुपर्ने माग गरेका थिए।

भाजपा नेताहरूले भने राहुलको चुनौतीमाथि प्रतिक्रिया दिँदै संसद् नै बहसका लागि उपयुक्त ठाउँ भएको बताएका छन्।

प्रकाशित: २७ कार्तिक २०८३ १६:१५ शुक्रबार