भारतीय कांग्रेसका नेता राहुल बोन्द्रे मंगलबार महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसको उपस्थितिमा भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गर्ने तयारीमा थिए।
तर अचानक कांग्रेसका अर्का नेता राहुल गान्धीले हस्तक्षेप गरेपछि उनको पार्टी प्रवेश रोकिएको हो। महाराष्ट्र कांग्रेस प्रमुख हर्षवर्धन सप्कलले विपक्षी नेता गान्धीसँग बोन्द्रेको फोन सम्पर्क गराएका थिए। त्यसपछि बोन्द्रे भावुक हुँदै गान्धीसँग ‘अब तपाईंले फोन गर्नुभएको छ, म यो लडाइँमा तपाईंको साथमा उभिनेछु, चाहे मैले जतिसुकै गुमाउनु परे पनि’ भने। पछि उनले सामाजिक सञ्जालमा ‘राहुल गान्धीसँगै उभिएर यो लडाइँमा सबै कुरा त्याग गर्न तयार छु’ भन्दै पोस्ट गरेका छन्।
इन्डियन एक्सप्रेसका अनुसार गान्धीले बोन्द्रेलाई पार्टी उनको साथमा रहेको र भाजपाको ‘डरलाग्दो रणनीति’ सामना गर्न हरसम्भव सहयोग गर्ने बताएका थिए। बोन्द्रेले हालैको हारबारे बताएपछि गान्धीले ‘जित्नका लागि कहिलेकाहीँ हार्नुपर्छ’ भन्दै सम्झाएका थिए।
बोन्द्रे पश्चिमी विदर्भको बुलढाणा जिल्लाको चिखलीबाट दुई पटक कांग्रेसका विधायक भएका थिए। उनले सन् २००९ र २०१४ मा चुनाव जितेका थिए। तर सन् २०१९ र २०२४ को चुनावमा भाजपाकी श्वेता महालेसँग पराजित भए। उनी कांग्रेसप्रति लामो समयदेखि आबद्ध राजनीतिक परिवारबाट आएका हुन्।
उनी विभिन्न क्रेडिट सोसाइटी, शैक्षिक संस्था र कपास मिलसँग सम्बन्धित छन्। स्रोतका अनुसार उनले आफ्नो व्यावसायिक गतिविधिबारे पछिल्ला केही वर्षदेखि निरन्तर भाजपा सरकारबाट सोधपुछ र नोटिसको सामना गर्दै आएका थिए।
बोन्द्रेलाई भाजपामा लैजाने प्रयासलाई महाराष्ट्र कांग्रेस प्रमुख सप्कलमाथि दबाब बढाउने प्रयासका रूपमा पनि हेरिएको थियो। बोन्द्रे र सप्कल दुवै बुलढाणा जिल्लाका हुन् र उनीहरूबिच लामो समयदेखि राम्रो सम्बन्ध रहेको बताइएको छ।
बोन्द्रेको भाजपा प्रवेशको अघिल्लो रात सप्कलले राहुल गान्धीसँग उनलाई फोन गर्न आग्रह गरेका थिए। गान्धीले बोन्द्रेलाई पार्टी नछाड्न आग्रह गरेपछि कांग्रेसभित्र धेरैलाई आश्चर्य लागेको इन्डियन एक्सप्रेसले जनाएको छ। यस घटनापछि संगठनभित्र सप्कलको प्रभावसमेत बढेको स्रोतले बताएका छन्।
प्रकाशित: ७ आश्विन २०८३ १२:५९ बुधबार



