इन्डो-प्यासिफिक क्षेत्रको सुरक्षा र रणनीतिक सन्तुलनका लागि महत्त्वपूर्ण मानिएको ‘क्वाड’ समूहका विदेशमन्त्रीहरूको विशेष बैठक आज भारतको राजधानी नयाँ दिल्लीमा बस्दैछ।
भारतले हाल अध्यक्षता गरिरहेको यस बैठकमा भारतीय विदेशमन्त्री एस. जयशंकर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङ र जापानी विदेशमन्त्री तोशिमित्सु मोटेगी सहभागी हुँदैछन्।
बैठकमा मुख्य गरी इन्डो-प्यासिफिक क्षेत्रको सुरक्षा, आर्थिक सहयोग र समुद्री सुरक्षा जस्ता संवेदनशील मुद्दाहरूमा छलफल हुने कार्यसूची छ। तर, यो बैठक यस्तो समयमा भइरहेको छ जहाँ अमेरिका र चीनबीचको सम्बन्ध द्रुत गतिमा परिवर्तन भइरहेको छ भने आफैँ क्वाड सदस्यहरूभित्रको आन्तरिक समीकरणसमेत धर्मराएको देखिन्छ।
सन् २०२४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले डेलावेयरमा क्वाड नेताहरूको शिखर सम्मेलन आयोजना गरेका थिए। त्यसपछि सन् २०२५ मा अर्को बैठक भारतमा हुने तय भए पनि त्यो सम्भव हुन सकेन। जानकारी अनुसार यसको मुख्य कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बढेको कूटनीतिक तनाव हो।
ट्रम्पले भारतीय सामानहरूमा अतिरिक्त कर र शुल्क लगाएपछि वासिङ्टन र नयाँ दिल्लीबीचको व्यापारिक सम्बन्ध चिसिएको थियो। त्यति मात्र नभई, भारतले सधैं संवेदनशील मान्ने भारत-पाकिस्तान सीमा द्वन्द्वमा आफूले मध्यस्थता गरेको दाबी ट्रम्पले गरेपछि भारत असन्तुष्ट बनेको थियो। साथै, भारतले रूसबाट सैन्य हतियार खरिद गरेकोमा ट्रम्पले कडा आलोचना गरेपछि दुई देशबीचको दूरी थप बढेको थियो।
यसै पृष्ठभूमिमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो नयाँ दिल्ली आइपुगेका छन्। उनलाई भारत र अमेरिकाबीचको बिग्रँदो सम्बन्धलाई ट्र्याकमा ल्याउने ठूलो जिम्मेवारी छ। यद्यपि, राष्ट्रपति ट्रम्प हाल पश्चिम एसिया (मध्य पूर्व) र अन्य विश्वव्यापी संकटहरूमा बढी केन्द्रित भएकाले रुबियोका लागि यो कूटनीतिक गाँठो फुकाउनु सहज नहुने विश्लेषण गरिएको छ।
जर्मन सञ्चारमाध्यम ‘डीडब्लू‘ का अनुसार अमेरिका, जापान र अष्ट्रेलिया पहिलेदेखि नै सैन्य एवं सुरक्षा सहयोगी हुन्। यो समूहमा भारतलाई समावेश गर्नुको मूल उद्देश्य नै यस क्षेत्रमा चीन विरोधी प्रभाव बढाउनु थियो। तर, अमेरिकी प्रशासनले भारतको रणनीतिक महत्त्वलाई पूर्ण रूपमा बुझ्न नसक्दा मोदी सरकार रुष्ट बनेको र त्यसले क्वाडको गतिशीलतामा ब्रेक लगाएको जानकारहरू बताउँछन्।
अहिले जापान र अष्ट्रेलियाले क्वाड गठबन्धनलाई टुक्रिनबाट जोगाउन निरन्तर मध्यस्थता र प्रयास गरिरहेका छन्। कतिपय विज्ञहरू ट्रम्प आफैँ अग्रसर हुनुको सट्टा भारतमा रुबियो आउनुलाई क्वाडको भविष्यका लागि सकारात्मक मान्छन्।
अमेरिकी भू-राजनीतिक विज्ञ डेरेक ग्रोसम्यानले चेतावनी दिँदै भनेका छन्, ‘यदि राष्ट्रपति ट्रम्पले क्वाड नेताहरूको आगामी शिखर सम्मेलनमा भाग लिएनन् भने यो समूहले बिस्तारै आफ्नो महत्त्व गुमाउनेछ।’ सन् २०२६ को अन्त्यतिर अष्ट्रेलियामा क्वाड नेताहरूको अर्को बैठक हुने सम्भावना छ।
यता लोवी इन्स्टिच्युटकी भारत अध्यक्ष श्रुति पण्डलाईका अनुसार यो बैठकले अमेरिका-चीन समीकरणहरू जस्तोसुकै बदलिए पनि क्वाडको सान्दर्भिकता कायमै छ भन्ने सन्देश दिन खोजेको छ। अन्तर्राष्ट्रिय मामिलाका विज्ञहरू भन्छन् कि यदि आन्तरिक असमझदारीका कारण क्वाड कमजोर भयो भने, त्यसको सीधा र सबैभन्दा ठूलो फाइदा चीनलाई पुग्नेछ। त्यसैले पनि आज नयाँ दिल्लीमा हुन लागेको यो बैठकलाई विश्वभर निकै चासोका साथ हेरिएको छ। एजेन्सी
प्रकाशित: १२ जेष्ठ २०८३ ०८:४६ मंगलबार