अन्तर्राष्ट्रिय

इरान-अमेरिकालाई पुनः वार्तामा फर्काउन मध्यस्थता गर्दै कतार

कतारले इरान र अमेरिकालाई तेहरानको आणविक कार्यक्रमबारे वार्ताको टेबलमा फर्काउन प्रयास गरिरहेको छ।

कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल-थानीले आफ्नो देशले इरान र अमेरिकालाई वार्तामा संलग्न गराउने कोसिस गरिरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाका महानिर्देशक राफेल ग्रोसीले इरानले सक्रिय रूपमा युरेनियम समृद्ध गरिरहेको छैन भनेका छन्। यद्यपि, युरेनियम भण्डारण केन्द्र नजिकै केही गतिविधि अवलोकन गरिएको छ।

ग्रोसीका अनुसार इरानसँगको ६० प्रतिशत समृद्ध युरेनियम भण्डारले १० वटा आणविक हतियार बनाउन सक्ने क्षमता छ, तर यसले इरानसँग हतियार भएको प्रमाणित गर्दैन।

यस वर्ष ओमानले इरान र अमेरिकाबिच अप्रत्यक्ष वार्तामा मध्यस्थता गरेको थियो। पाँच चरणको वार्तापछि इजरायलको १२ दिने युद्ध र अमेरिकाको आक्रमणले तेहरानले वार्ता रद्द गरेको थियो।

अमेरिकी आक्रमणको जवाफमा इरानले कतारस्थित अमेरिकी हवाई अड्डामा क्षेप्यास्त्र प्रहार गरेको थियो, जसविरुद्ध कतारले सुरक्षा परिषद्मा विरोध गरेको थियो। एजेन्सी

प्रकाशित: १४ कार्तिक २०८२ ०८:१२ शुक्रबार