अन्तर्राष्ट्रिय

पुटिनको भारत भ्रमण: मोदीले भने–भारत तटस्थ छैन

सात महत्त्वपूर्ण सम्झौता, रक्षा सम्झौता ‘गोप्य’

युक्रेन युद्धपछि पहिलो पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा छन्। पुटिनको यो भ्रमण विश्व समुदायले चासोपूर्वक हेरिरहेका छन्। 

बिहीबार भारत पुगेका पुटिनसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार दिनभर व्यस्त रहे। बिहानै उठेर पुटिन राजघाट पुगेका थिए। जहाँ उनले महात्मा गान्धीको सालिकमा माल्यार्पण गरेर श्रद्धाञ्जली दिएका थिए। 

त्यसपछि उनी भारतीय राष्ट्रपति भवन पुगेर राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटेका थिए। उक्त भेटमा प्रधानमन्त्री मोदी, विदेश मन्त्री एस जयशंकरलगायतका नेता उपस्थित थिए। 

त्यसपछि प्रधानमन्त्री मोदीले पुटिनलाई हैदरावाद हाउसमा स्वागत गरे। त्यहा भारत–रुसबिच २३ औँ वार्षिक बैठक भएको थियो। उक्त बैठकमा रक्षा, व्यापार, ऊर्जा र आर्थिक सहयोग जस्ता विषयमा सहकार्य बलियो बनाउने सहमति भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

रक्षा सम्झौता ‘गोप्य’ 

पुटिनको भारत भ्रमणका क्रममा दुई देशबिच सात वटा सम्झौता भएको भनिएको छ। जसमा स्वास्थ्य, शिक्षा, श्रमिक जनशक्ति, पानीजहाज, बन्दरगाह र प्रवासनका क्षेत्रमा सम्झौता भएको भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका छन्। 

तर सातौ विषय सैन्य तथा रक्षा क्षेत्रका सम्झौता भने गोप्य राखिएको छ। उक्त सम्झौता गोप्य रहनुको कारणबारे रक्षा विशेषज्ञ एवं पूर्व मेजर जनरल सञ्जय मेस्टनले यसअघि रक्षासँग सम्बन्धित अमेरिकासँगका सम्झौता पनि गोप्य नै रहेको भारतीय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन्।  भारत–रुसले चीन र अमेरिकाको चासोलाई हेरेर रक्षासँग सम्बन्धित सम्झौता गोप्य राखेको विश्लेषण भइरहेको छ। 

मोदीले भने–पुटिन दुरदर्शी नेता, भारत तटस्थ छैन 

भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिन एक दुरदर्शी नेता भएको दाबी गरे। ‘म मान्दछु कि २००१ मा तपाईँ(पुटिन)ले जे भूमिका निभाउनुभएको थियो, त्यसले देखाउँछ–कि एक दुरदर्शी नेता कसरी सोच्छ,’ मोदीले भने, ‘कहाँबाट सुरु गर्छ र सम्बन्ध कहाँसम्म लग्नसक्छ। भारत–रुसको सम्बन्ध यसको सबैभन्दा राम्रो उदाहरण हो।’ 

रुस–युक्रेन युद्धबारे मोदीले आफ्नो र पुटिनको लगातार कुराकानी भइरहेको खुलासा गरे। ‘तपाईँले समय–समयमा एक सच्चा मित्रको किसिमले हामीलाई सबै कुरा अवगत गराइराख्नुभएको छ। यो विश्वास हाम्रो मित्रताको सबैभन्दा ठुलो तागत हो,’ मोदीले भने। 

अब रुस र भारत मिलेर शान्तिको बाटो पहिल्याउनुपर्ने पनि मोदीले बताए। ‘मैले सधैँ भनेको छु–भारत तटस्थ छैन। भारतको पक्ष सधैँ शान्तिको हो। हामी शान्तिका हरेक प्रयासको समर्थन गर्छौँ। शान्तिका लागि काँधमा काँध मिलाएर खडा हुन्छौँ,’ मोदीले अगाडि भने। 

रुसी राष्ट्रपति पुटिनले आफ्नो र मोदीको दिल निकै नजिक रहेको दाबी गरे। सँगै उनले अमेरिकाले अवरोध गर्न खोजे पनि रुस भारतलाई तेल निर्यात निर्वाध रूपमा गर्न तयार रहेको पनि बताए। 

भारतीय सञ्चारमाध्यमको सहयोगमा 

प्रकाशित: १९ मंसिर २०८२ २१:०० शुक्रबार