अन्तर्राष्ट्रिय

कुरिल टापुमा पुटिन

जापानले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको विवादित कुरिल टापुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपटक भ्रमण गरेका छन्। पुटिनको यो भ्रमणले लामो समयदेखि क्षेत्रीय विवादका कारण तनावपूर्ण रहँदै आएको रूस–जापान सम्बन्धमा थप चिसोपन आउन सक्ने सङ्केत गरेको छ। 

सरकारी सञ्चारमाध्यम तासका अनुसार पुटिनले पहिलोपटक व्यक्तिगत रूपमा कुरिल टापुहरूको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले रूसको प्रशान्त महासागरस्थित नौसैनिक बेडाको प्रमुख युद्धपोतको निरीक्षण गरेका थिए। 

जापानमा ‘उत्तरी क्षेत्र’ भनेर चिनिने यी विवादित टापु सन् १९४५ मा तत्कालीन सोभियत सङ्घले कब्जा गरेपछि रूसको नियन्त्रणमा छन्। दोस्रो विश्वयुद्धको अन्तिम चरणमा सोभियत सेनाले कब्जा गरेको यस भूभागलाई लिएर मस्को र टोकियोबीच दशकौँदेखि विवाद रहँदै आएको छ। 

सन् २०२२ मा रूसले युक्रेनमा पूर्णस्तरीय युद्ध सुरु गरेपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ। जापानले युक्रेनमाथिको रुसी आक्रमणको विरोध गर्दै मस्कोमाथि पश्चिमी मुलुकसँग मिलेर विभिन्न प्रतिबन्ध लगाएपछि द्विपक्षीय सम्बन्ध अझ तनावपूर्ण बनेको हो।

होक्काइडोको उत्तरमा रणनीतिक रूपमा अवस्थित यी ज्वालामुखीय टापुहरूमा सोभियत सङ्घले दोस्रो विश्वयुद्धपछि सैन्य उपस्थिति कायम राखेको थियो। सन् २०१० मा तत्कालीन रुसी राष्ट्रपति दिमित्री मेदभेदेभ विवादित टापुहरूको भ्रमण गर्ने पहिलो रुसी राष्ट्रपति  बनेका थिए। उनले सन् २०१९ मा प्रधानमन्त्रीका रूपमा समेत त्यहाँ भ्रमण गरेका थिए। 

विवादित चार टापु ज्वालामुखीय कुरिल द्वीपसमूहको हिस्सा हुन्। यो द्वीपसमूह रूसको कामचटका प्रायद्वीपदेखि जापानको उत्तरी मुख्य टापु होक्काइडोसम्म लामो चापका रूपमा फैलिएको छ। रूसले कुनासिर, हबोमाई, शिकोटान र इटुरुप नाम प्रयोग गर्ने यी टापुलाई जापानले क्रमशः कुनासिरी, हबोमाई, शिकोटान र एटोरोफु भन्ने गरेको छ। 

यी टापुमा करिब २० हजार रुसी नागरिक बसोबास गर्छन्। कठोर जलवायुका बाबजुद क्षेत्र प्राकृतिक स्रोतका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यहाँ सुन र चाँदीलगायत खनिजको भण्डार रहेको छ भने वरपरका समुद्री क्षेत्रमा प्रशस्त माछा पाइने भएकाले माछा मार्ने गतिविधि पनि महत्त्वपूर्ण छ।  

सन् १९४५ मा टापु कब्जा गरेपछि मस्कोले त्यहाँ रहेका करिब १७ हजार जापानी नागरिकलाई विस्थापित गरेको थियो। त्यसपछि यी टापुको रणनीतिक महत्त्व झनै बढ्यो। शीतयुद्धका क्रममा सोभियत सङ्घले यहाँका सैन्य तथा हवाई आधारलाई संयुक्त राज्य अमेरिका र उसको प्रमुख प्रशान्त सहयोगी जापानमाथि निगरानी तथा प्रतिरोधका लागि प्रयोग गरेको थियो। 

रूस र जापानबीच यस विवादको समाधानका लागि विगतमा पटकपटक वार्ता भएका छन्। केही अवसरमा वार्ताले उल्लेखनीय प्रगति गर्ने सङ्केत देखिए पनि स्थायी समाधान भने हुन सकेको छैन। 

सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना हुँदा तत्कालीन सोभियत नेता निकिता ख्रुस्चेभले शान्ति सन्धि भएपछि विवादित दुई टापु जापानलाई फिर्ता गर्न सकिने प्रस्ताव गर्नुभएको थियो। तर उक्त प्रस्तावले पनि सम्पूर्ण क्षेत्रीय विवाद समाधान गर्न सकेन। 

सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि रूस र जापानबीच वार्ता पुनः सुरु भए पनि चार दशकभन्दा लामो विवाद अन्त्य गर्ने गरी ठोस सहमति हुन सकेको छैन। युक्रेन युद्धपछि सम्बन्ध थप तनावपूर्ण बनेको अवस्थामा पुटिनको कुरिल भ्रमणले यो विवाद फेरि दुई देशबीचको सम्बन्धको केन्द्रमा ल्याएको छ। 

प्रकाशित: २८ श्रावण २०८३ ११:४८ बिहीबार