रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुईसँग भेटवार्ता गरेका छन्। रुसी सरकारी सञ्चारमाध्यमका अनुसार दुई देशबीचको पछिल्लो उच्चस्तरीय कूटनीतिक भेटका क्रममा पुटिनले युक्रेनविरुद्धको युद्धमा प्योङयाङले गरेको समर्थनप्रति धन्यवाद व्यक्त गरे।
कुनै बहुपक्षीय कूटनीतिक कार्यक्रम वा राष्ट्रिय उत्सवको अवसरबिना नै भएको चोको रुस भ्रमणले उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित रुस भ्रमणको तयारीबारे अड्कलबाजी बढाएको छ।
उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार चो रुसी विदेशमन्त्री सर्गेई लाभरोभको निमन्त्रणामा शनिबार रुस पुगेका हुन्। यद्यपि, भ्रमणको उद्देश्यबारे भने प्योङयाङले विस्तृत जानकारी दिएको छैन।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ता युन मिन होले सोमबार सोलले यी भेटवार्तालाई नजिकबाट नियालिरहेको बताए। तर, मस्को र प्योङयाङबीच नेतास्तरीय अर्को शिखर बैठकबारे छलफल भइरहेको छ वा छैन भन्ने विषयमा उहाँले टिप्पणी गर्न अस्वीकार गरे।
रुसी समाचार संस्था ‘टास’का अनुसार, क्रेमलिनमा भएको भेटमा पुटिनले दुई देशबीचको सम्बन्धलाई प्रशंसा गर्दै युक्रेनमा जारी सैन्य कारबाहीका क्रममा सहयोग गरेकोमा उत्तर कोरियाली नेतृत्व र जनताप्रति कृतज्ञता व्यक्त गरे।
जवाफमा चोले किम जोङ उनले रुससँगको सम्बन्धलाई समग्र रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताएका थिए।
किमले यसअघि सन् २०१९ र सन् २०२३ मा पुटिनसँग शिखर वार्ताका लागि रुस भ्रमण गरेका थिए। सन् २०२४ जुनमा पुटिनको प्योङयाङ भ्रमणका क्रममा दुई नेताले रणनीतिक साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दै कुनै पनि पक्षमाथि आक्रमण भएमा पारस्परिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
पछिल्ला वर्षहरूमा उत्तर कोरियाले रुससँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएको छ। किम प्रशासनले युक्रेन युद्धमा रुसलाई सैनिक तथा हतियार सहयोग उपलब्ध गराएको आरोप लाग्दै आएको छ।
त्यसको बदलामा उत्तर कोरियाले आर्थिक सहयोग र सैन्य प्रविधि प्राप्त गरिरहेको हुन सक्ने विज्ञहरूले बताएका छन्।
यसैबीच, किमले चीनसँग पनि सम्बन्ध सुदृढ बनाउने प्रयास जारी राखेका छन्। गत जुनमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्योङयाङमा भेटवार्ता गरेका थिए।
उत्तर कोरियाले अमेरिका र उसका सहयोगी राष्ट्रहरूको प्रभावको प्रतिरोध गर्ने उद्देश्यले रुस र चीनसँगको सहकार्यलाई विस्तार गरिरहेको विश्लेषण गरिएको छ।
रुस भ्रमणअघि उत्तर कोरियाका उच्च अधिकारीहरूले चीन भ्रमण गरेका थिए। उत्तर कोरियाली मन्त्रिपरिषद्का प्रमुख पाक थे सोङले बेइजिङमा सीसँग भेटवार्ता गरेका थिए।
चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता वाङ हुनिङले प्योङयाङ पुगेर किमसँग छलफल गरे।
सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक वार्ता असफल भएपछि किमले अमेरिका र दक्षिण कोरियासँगको संवाद लगभग रोक्दै आए।
उनले युक्रेन युद्धलाई आफ्नो आणविक हतियार तथा क्षेप्यास्त्र कार्यक्रम विस्तार गर्ने अवसरका रूपमा प्रयोग गरिरहेको आरोप लाग्दै आएको छ।
अर्कोतर्फ, अमेरिकाले उत्तर कोरियासँगको वार्ताका लागि आणविक निशस्त्रीकरणलाई प्रमुख सर्त बनाउँदै आएको छ।एपी
प्रकाशित: ४ श्रावण २०८३ १४:५४ सोमबार