अन्तर्राष्ट्रिय

फ्रान्सका सय बढी स्थानमा प्रदर्शन, १३५ जना पक्राउ

फ्रान्समा राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु भएको छ। देशका १०० भन्दा बढी स्थानमा प्रदर्शन भइरहेका बेला प्रहरीले १३५ जनालाई पक्राउ गरेको छ।

प्रदर्शनका क्रममा विभिन्न प्रकारका हतियारसमेत बरामद गरिएको फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले बताएका छन्।

अघिल्ला साताहरूमा भएका केही प्रदर्शन हिंसात्मक बनेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। प्रदर्शन नियन्त्रण गर्न देशभर थप हजारौँ प्रहरी अधिकारी परिचालन गरिएको छ।

फ्रान्सका विभिन्न क्षेत्रमा कर्फ्यु, बन्देज तथा विरोध प्रदर्शनमाथि प्रतिबन्ध लगाइए पनि लिल, मार्सेली र पेरिसलगायतका सहरमा केही प्रदर्शनलाई अनुमति दिइएको छ।

गृहमन्त्री नुनेजका अनुसार स्थानीय समयअनुसार दिउँसो १ बजेसम्म प्रहरीले १३५ जनालाई पक्राउ गरेको थियो। प्रदर्शनका क्रममा धातुका बल, सिसाका गोली, आतिशबाजी, गुलेली, स्टिलका बल, घरेलु रूपमा बनाइएका हतियार, जापानी तरवार (कटाना) र एयरसफ्ट हतियार बरामद गरिएको उनले जानकारी दिए।

उनले अहिलेसम्म कुनै ठूलो घटना नभएको बताएका छन्। पेरिस प्रहरीले पनि दिउँसोसम्मको अवस्थालाई शान्तिपूर्ण रहेको जनाएको छ।

यसैबीच, पेरिसमा प्रहरीले प्लेस डे ला बास्टिल क्षेत्र खाली गराएको थियो। त्यसक्रममा प्रदर्शनकारी र पत्रकारहरूलाई पोर्ते द इटाली क्षेत्रमा सारिएको थियो।

फ्रान्सका विभिन्न सहरमा मजदुर युनियनहरूले आयोजना गरेका प्रदर्शनलाई पनि अनुमति दिइएको छ। लिल, स्ट्रासबर्ग, मुलहाउस, ग्रेनोबल, मार्सेली, टुलुस, एमियन्स र पेरिसमा स्वीकृत प्रदर्शन भएका छन्।

यता, फ्रान्सको दक्षिणपन्थी राजनीतिक दल राष्ट्रिय र्‍याली (नेसनल र्‍याली) ले ओर्लियन्समा दुईदिने सम्मेलन आयोजना गरिरहेका बेला उक्त दलको विरोधमा पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले जातिवाद, फासीवाद र साम्राज्यवादको विरोधमा नाराबाजी गरेका छन्।

यसैगरी, फ्रान्समा यसअघि चर्चित बनेको ‘यलो भेस्ट’ (गिलेट्स जोन्स) आन्दोलनले पनि देशभर ७०० भन्दा बढी स्थानमा विरोध प्रदर्शन गर्ने योजना बनाएको जनाएको छ।

फ्रान्समा पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक मुद्दालाई लिएर विरोध प्रदर्शन हुँदै आएका छन्।

प्रदर्शनलाई शान्तिपूर्ण राख्न र सम्भावित हिंसा नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी बढाएका छन्।

प्रकाशित: ७ कार्तिक २०८३ १८:१९ शनिबार