अन्तर्राष्ट्रिय

मिनियापोलिसमा पुनः उत्रियो विरोधको लहर

अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिका बीच ‘नो किङ्ग्स’ आन्दोलनले मिनियापोलिसलाई फेरि राष्ट्रिय ध्यानको केन्द्रमा ल्याएको छ । यस सहरमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् ।

सङ्घीय आप्रवासन छापापछि केही महिनाअघि हिंसात्मक घटनाले स्तब्ध बनेको यो सहरमा पुनः ठूलो सङ्ख्यामा नागरिकहरू भेला भएका हुन् । आयोजकहरूका अनुसार करिब दुई लाख मानिस सहभागी भएको यो प्रदर्शन ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको विरोधमा केन्द्रित थियो ।

जनवरीमा गरिएको विवादास्पद छापाका क्रममा सङ्घीय एजेन्टहरूको हातबाट दुई अमेरिकी नागरिक रेनी गुड र एलेक्स प्रिटीको मृत्यु भएपछि मिनियापोलिस राष्ट्रिय बहसको केन्द्र बनेको थियो । उक्त घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति विरुद्ध व्यापक आक्रोश जन्माएको थियो ।

गत वर्षदेखि आम नागरिकको पहलमा सुरु भएको ‘नो किङ्ग्स’ आन्दोलन अन्तर्गत यो तेस्रो ठूलो प्रदर्शन हो, जसले ट्रम्पको नेतृत्व शैली र दक्षिणपन्थी एजेन्डाप्रति असहमति जनाउँदै आएको छ । प्रदर्शनमा सहभागीहरूले ‘कुनै राजा छैन, कुनै आइस छैन, कुनै युद्ध छैन !’ जस्ता नाराहरू घन्काएका थिए, जसले आप्रवासन कार्यान्वयन निकाय ‘आइस’ (आइसिई) विरुद्धको असन्तोषलाई समेत प्रस्ट पारेको थियो ।

कार्यक्रमको सांस्कृतिक पक्ष पनि प्रभावशाली देखिएको थियो । चर्चित सङ्गीतकार ब्रुस स्प्रिङ्गस्टीनले छिमेकी सेन्ट पल सहरमा आयोजित कार्यक्रममा प्रस्तुति दिँदै ‘स्ट्रिट्स अफ मिनियापोलिस’ गीतमार्फत मृतक गुड र प्रिटीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनले बलिदान र साहसलाई स्मरण गर्दै उनीहरूको नाम कहिल्यै नबिर्सिने बताए ।

र्‍यालीमा सहभागी ७३ वर्षीया पामेला सिन्नेसले आफू सबै मानिसहरूको समान अधिकारको पक्षमा उभिन आएको बताए । उनका अनुसार, सहरले हालैको हिंसात्मक घटनाबाट गहिरो आघात भोगेको छ र त्यस्तो अवस्थाको पुनरावृत्ति नहोस् भन्ने भावना लिएर मानिसहरू सडकमा आएका हुन् ।

राजनीतिक नेतृत्वले पनि विरोधमा स्वर मिलाएको देखिएको छ । मिनेसोटाका गभर्नर टिम वाल्जले प्रदर्शनकारीहरूलाई धन्यवाद दिँदै ट्रम्पको आलोचना गरे । त्यस्तै, वामपन्थी नेता बर्नी स्यान्डर्सले पनि सम्बोधन गर्दै ट्रम्पमाथि संविधान र कानूनी शासनको अवमूल्यन गरेको आरोप लगाए ।  

प्रदर्शनमा सहभागी जिना बिलोटा–रेसेलिसले ट्रम्प नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै उनलाई अयोग्य रहेको टिप्पणी गरेका थिए । उनले मध्यपूर्वमा भइरहेको युद्ध, बढ्दो तेल मूल्य र आन्तरिक नीतिगत विवादहरूले सरकारको विश्वसनीयता घटाएको बताए ।  

उनका अनुसार आगामी नोभेम्बरको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले आफ्नो सङ्कीर्ण बहुमत जोगाउन कठिन हुने देखिन्छ । “मतदानको प्रवृत्ति हेर्दा परिवर्तनको सङ्केत देखिन्छ”, उनले भने, “मलाई लाग्छ उनीहरूले हार्नेछन् ।”

 

प्रकाशित: १५ चैत्र २०८२ १६:३६ आइतबार